अम्बर गुरुङ राष्ट्रीय संगीत पुरस्कार कोषलाई बेलायतबाट सहयोग

मनिषा थापा

पोखरा :  पोखरेली यूवा सांस्कृतिक परिवार (पोयूसांप) ले स्थापना गर्न लागेको अम्बर गुरुङ्ग राष्ट्रीय संगीत पुरस्कार कोषका लागि पोखरेली मंच यूकेले रु २ लाख ५० हजार सहयोग प्रदान गरेको छ। गत ९ नोभेम्बरमा बेलायतमा पोखरेली मंच यूकेले आयोजना गरेको सिर्जनाको घेराभित्र सरुभक्त कार्यक्रम प्रायोजनबाट बचेको सो रकम संयोजकद्वय लालप्रसाद गुरुङ्ग र सुधा गुरुङ्गले पोयूसांपका अध्यक्ष प्रकाश ज्ञवालीलाई गत पौष ५ गते पोखरामा समता काव्य संध्या कार्यक्रममा हस्तान्तरण गरेका थिए।

साथै बचेको केही रकम र बेलायतमा अन्तराष्ट्रीय लोकार्पण गरिएको बरिष्ठ साहित्यकार सरुभक्तको नविनतम उपन्यास बिक्रीबाट उठेको रकम गरि रु ३ लाख १८ हजार ४०९ सरुभक्तलाई प्रदान गरिएको थियो। पोखरामा पोयूसांपले हरेक महिनाको पहिलो शनिबार समता काव्य संध्या नियमित कबिता बाचन कार्यक्रमको अयोजना गर्ने गर्दछ। सोही कार्यक्रममा संयोजक दम्पतीले सो रकम हस्तान्तरण गरेका हुन।


आधुनिक गीत संगीतका धरोहर स्वर्गीय अम्बर गुरुङ्गको नाममा अलि ठुलै रकमको अक्षय कोषको स्थापना गरि राष्ट्रीय स्तरमा गीत संगीतको क्षेत्रमा अमूल्य योगदान पुराउने स्रष्टालाई पुरस्कृत गरिने योजना रहेको कुरा पोयूसांपका संस्थापक सदस्य साहित्यकार तीर्थ श्रेष्ठले बताए। सो पुरस्कार स्थापनाका लागि जग बसाल्ने काम गीतकार एवम संगीतकार बिक्रम गुरुङ्गले गरेको कुरा पनि श्रेष्ठले बताए।

विक्रमले हंगकंगमा एकल सांगीतिक कार्यक्रमको आयोजना गरि ल्याएको रकम रु पांच लाखमा एक लाख थप गरि रु ६ लाख सो कोषका लागि प्रदान गरेका थिए। सोही रकममा एक अर्को ईट्टा थप्ने काम गर्‍यो पोखरेली मंचयूकेले अनि माध्यम बने साहित्यकार सरुभक्त।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपती एवम नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानकापूर्व सदस्री सरुभक्तले आफ्नो बेलायती भ्रमणलाई साहित्यिक तीर्थयात्रा उपनाम दिदै बेलायतमा आयोजित आफ्नो ऐतिहासिक कार्यक्रमबाट आधुनिक गीत संगीतका धरोहर एवम मूर्धन्य संगीतकार अम्बर गुरुङ्ग राष्ट्रीय पुरस्कारमा थप टेवा पुराउन पाउनु आफ्नो लागि अत्ति नै अविष्मरणीय क्षण भएको कुरा बताए।

साहित्यकार तीर्थ श्रेष्ठले पोखरामा अम्बर गुरुङ्गका नाममा देशकै ठूलो पुरस्कार राशीको राष्ट्रीय पुरस्कार स्थापना अभियानमा लागीपरेको कुरा बताए। अहिले सम्म सो कोषमा विक्रम र सरुभक्त मार्फत साढे आठ लाख संकलन भैसकेको र २० लाख रुपैयाको कोष बनाएर ठुलै राशीको पुरस्कार प्रदान गर्ने हाम्रो लक्ष्य हो। कोष स्थापना गरि बर्सेनि वा २ बर्षको अन्तरालमा कम्तीमा २ वा ३ लाख रुपैया सम्मको पुरस्कार दिने कार्यबिधी बन्न लागेको पनि उनले बताए।

अक्सर बेलायतमा कलाकारहरु निम्त्याएर रमाईलो गर्ने प्रचलन रहेकोमा पोखरेली मंचयूकेले केही नयां नौलो किन नगर्ने त? भन्ने मनसाय लिई बेलायती साहित्यप्रेमी श्रोताहरुको साहित्यिक तिर्सना मेटाउने अभिप्रायले पृथक खालको साहित्यिक कार्यक्रमको आयोजना गर्ने जमर्को गरेकोमा अती सफलतापूर्वक सम्पन्न भएको जानकारी संयोजक लाल गुरुङ्गले दिए। साथै २०३४ सालतिर आफू पनि पोयूसांपको स्थापना कालिन सदस्य भएकाले आफ्नो मातृ संस्था प्रती केही गर्न पाए हुन्थ्यो भन्ने भावनाले सदा आफुलाई झकझकाई रहेको अवस्थामा सिर्जनाको घेरा भित्र सरुभक्त कार्यक्रमको संयोजन गरी यो सहयोग जुराउन पाएकोमा अत्यन्त खुशी लागेको कुरा उनले बताए।

कार्यक्रममा प्रमुख अतिथी सरुभक्तले साहित्यकार सरस्वती श्रेष्ठ सरुको बाल कथा संग्रह किट्टीको लोकार्पण गरेका थिए। साथै विभिन्न कविहरुले आफ्ना सुन्दर रचनाहरु बाचन गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू