अर्को सूचना नआएसम्मका लागि पुनः स्थगित कक्षा ११ र १२ को परीक्षा

admin

भक्तपुर, २५ चैत : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगन गरेको छ । बोर्डको मंगलबार बसेको बैठकले अर्को सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका सदस्य-सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

कोरोना भाइरस (कोभिड-१९) को सङ्क्रमण तथा रोकथामका लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा अन्योल भइरहेको बेलामा बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले कक्षा १२ को परीक्षा वैशाख ८ र ११ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापेर परीक्षा सञ्चालनको तयारी अवस्थामा रहे पनि ढुवानी गरेर जिल्ला जिल्ला पुर्‍याउन भने बाँकी थियो ।

बोर्डले देशभर एक हजार १४७ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने परीक्षामा कक्षा ११ र १२ मा गरी कूल नौ लाख ६२ हजार विद्यार्थी सहभागी हुने भएका थिए । त्यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ ।

बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने भन्दै घर मै बसेर परीक्षाको तयारीमा लाग्न आग्रह गरेको छ । बोर्डका सदस्य-सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीका लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया