अर्थ मन्त्री-चिनियाँ राजदूतबीच भेट, नेपालले थप १६ लाख डोज खोप चाँडै प्राप्त गर्ने

राष्ट्रिय समाचार समिति

काठमाडौं, १५ साउन : अर्थ मन्त्री जनार्दन शर्मासँग नेपालका लागि चिनियाँ राजदूत होउ याङ्छीले शुक्रबार शिष्टाचार भेट गरेकी छिन् । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थ मन्त्री शर्माले कोभिड महामारी र भूकम्पपछिको पुनर्निर्माणमा प्राप्त भएको चिनियाँ सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै आउँदा दिनमा पनि चिनियाँ सहयोग र सद्भाव निरन्तर रहने विश्वास व्यक्त गरे।

मन्त्री शर्माले कोभिडविरुद्ध नेपाली नागरिकलाई खोप सरकारको प्राथमिकतामा रहेको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे । उनले चीनबाट थप खोप खरिदका लागि प्रक्रिया अघि बढाएकाले त्यस कार्यमा राजदूतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा सञ्चालित विभिन्न आयोजनाको कार्यान्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्य सम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिबद्धता व्यक्त गरे । उनले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत्, विमानस्थललगायतका निर्माणाधीन परियोजना सम्पन्न गर्नका लागि नेपाल सरकारले गर्नुपर्ने कामको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए ।

भेटमा चिनियाँ राजदूत होउले नवनियुक्त अर्थ मन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरिएको अर्थ मन्त्रीको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

चिनियाँ नागरिक र त्यहाँको कम्युनिस्ट पार्टीसँग नेपाली नागरिक र यहाँका राजनीतिक दलहरूको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदूत होउले कोभिड महामारीविरुद्धको लडाइँमा आफूहरू नेपालको साथमा रहँदै आएको बताइन् । चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् ।

यस्तै भूकम्पपछिको पुनर्निर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाको पुनर्निर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उनले दरबार हाई स्कुलको पुनर्निर्माण सकिएको, वसन्तपुरको नौतले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाको काम पनि चाँडै सम्पन्न गरिने बताइन् ।

प्रतिक्रिया