अविरल वर्षाले ठोरी बजारमा कटान शुरु

राष्ट्रिय समाचार समिति

वीरगञ्ज, ८ साउन: मङ्गलबार रातिदेखि आएको अविरल वर्षाका कारण पश्चिमी पर्साको टुटे खोलामा आएको बाढीले ठोरी बजारको पूर्वी भाग कटान भइरहेको छ । वर्षाबाट ठोरी गाउँपालिका–२ मा रहेको टुटे खोलाको ग्राभेल भत्काएर बाढीको पानी गाउँ पसेको, अन्नबाली तथा धानबाली नष्ट गरेको, खोलाको भङ्गालो गाउँ पसेको छ भने वडा नं– ३ मा रहेको ढुङ्गे बगर खोलामा आएको बाढीले आवतजावत प्रभावित भएको र जङ्गलबाट बाढीले रुख बगाएर ल्याएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

मानवीय क्षति नभए पनि १५ जना प्रहरी खोलाको बाढीलाई पहिलेकै स्थितिमा फर्काउने प्रयासमा लागेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक केदारराज पन्तले बताउनुभयो । यसैगरी सो वर्षाका कारण पर्सा र बाराका नदी तथा खोला तटीय क्षेत्रका बस्ती डुबानमा परेकाले स्थानीय बासिन्दा जोखिमा परेका प्रहरीले जनाएको छ ।

मङ्गलबार रातिबाट निरन्तर रुपमा वर्षा भइहेकाले सो वर्षाको पानीबाट पर्साको सिर्सिया, भेडाहा, फन्टी, सिङ्ग्याही तथा बाराको दूधौरा, बाणगङ्गा, बकैयालगायतका नदी तथा खोलामा पानीको सतह बढेको छ । दूधौरा नदीमा आएको बाढीले जीतपुर सिमरा उपमहानगरपालिका–२४ हरपुरमा रहेको बस्ती डुबानमा परेको छ । दूधौराको बाढी सो बस्तीमा पस्दा करीब ६० घरपरिवार डुबानमा परेका सिमरा प्रहरीले जनाएको छ । डुबानमा परेका घरपरिवारलाई प्रहरीले उद्धार गर्ने क्रम जारी रहेको बताइएको छ ।

प्रतिक्रिया