असन्तुष्टिबीच नेकपा–राजमो तालमेल

राष्ट्रिय समाचार समिति

बागलुङ, १९ कात्तिक: बागलुङ–२ (ख) मा हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता, कार्यकर्ता आफ्नै उम्मेदवार हुनुपर्ने पक्षमा थिए । एक्लै लडे पनि चुनाव जितिने जिकिर उनीहरुको थियो । आफ्नो पार्टीको समर्थनमा अघिल्लो चुनाव जितेको राष्ट्रिय जनमोर्चालाई सघाउने मनस्थितिमा नेकपा थिएन ।

एक्कासी नेकपा र राजमोबीच केन्द्रीय तहमा चुनावी तालमेलको सहमति बनेपछि नेकपाका स्थानीय नेता, कार्यकर्ता झस्किए । राजमोलाई अन्यत्र सघाउने गरी बागलुङमा नेकपाकै उम्मेदवार उठाउनुपर्ने मागसहित जिल्लास्तरीय नेता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मलाई भेट्न पुगे ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र राजमोका अध्यक्ष चित्रबहादुर केसीबीच भएको सहमतिअनुसार नेकपाको केन्द्रीय सचिवालय बैठकले बागलुङमा राजमोलाई सघाउने निर्णय ग¥यो । चुनावको तयारीमा होमिएका नेकपाका नेता, कार्यकर्ता पार्टी केन्द्रको निर्णयपछि निराश बने । पार्टी तहमा पनि असन्तुष्टि देखियो ।

नेकपाका जिल्लास्तरीय नेता पनि एक्लै चुनाव जितिने निष्कर्षमा पुगेका थिए । तल्लो तहका समितिको ‘रिपोटिङ’ र वस्तुगत अवस्थाका आधारमा नेकपा चुनाव जित्नेमा ढुक्क बनेको थियो । उक्त निर्वाचन क्षेत्रमा विगतको मत परिणामको आधारमा राजमो भन्दा नेकपाको जनमत केही अन्तरले बढी छ । नेकपा र राजमो नमिल्दा भने नेपाली काङ्गे्रस नै अगाडि छ ।

“तलका साथीहरुको जोड एक्लै लडे पनि जितिन्छ भन्नेमा थियो”, नेकपा बागलुङका अध्यक्ष इन्द्रलाल सापकोटाले भन्नुभयो, “अब केन्द्रीय नेतृत्वले गरेको निर्णयलाई मानेर जानुको विकल्प छैन ।” स्थानीय नेता, कार्यकर्तामा केही असन्तुष्टि देखिए पनि त्यो आफैँ शाम्य हुने उहाँको भनाइ छ ।

नेकपाबाट सम्भावित उम्मेदवारको सूचीमा पर्नुभएका नेता तुलसी अर्यालले पार्टी सचिवालयको निर्णयलाई आफूले शिरोधार्य गर्ने बताउनुभयो । “आफूले जितिने ठाउँमा उम्मेदवार नपाउँदा असन्तुष्टि देखिनु स्वभाविक हो”, उहाँले भन्नुभयो, “तर हामी विधिमा चल्नुपर्छ, पार्टीको निर्णयलाई मान्नुपर्छ ।”

उहाँसँगै नेकपाका पुराना नेता मोहनलाल रेग्मीलगायतको नाम सम्भावित उम्मेदवारका रुपमा सिफारिस भएको थियो । अर्यालले राजमोको उम्मेदवारलाई जिताउन दुवै दल एकमना एकताका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । राजमो बागलुङका अध्यक्ष अमर थापाले आफूहरुको पुरानो माग पूरा भएको बताउनुभयो ।

राजमोले अघिल्लो चुनावमा आफ्नो उम्मेदवार विजयी भएकाले सोही ठाउँमा हुने उपचुनावमा पनि आफ्नै उम्मेदवारले अवसर पाउनुपर्ने जिकिर गर्दै आएको थियो । विसं २०७४ को प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राजमोबीच चुनावी गठबन्धन बनेको थियो ।

सोही गठबन्धका बलमा अहिले उपचुनाव हुन लागेको क्षेत्रमा राजमोका उम्मेदवार टेकबहादुर घर्ती विजयी बन्नुभएको थियो । घर्तीको गत वर्ष निधन भएपछि रिक्त रहेको प्रदेशसभा सदस्य पदमा उपचुनाव हुन लागेको हो । “उम्मेदवारको मनोनयन दर्तापछि दुवै दलको संयुक्त चुनावी मोर्चा बनाएर अघि बढ्छौँ”, राजमोका अध्यक्ष थापाले भन्नुभयो ।

अध्यक्ष थापाले नेकपामा देखिएको भनिएको असन्तुष्टिले चुनावी अभियानलाई कुनै असर नपार्ने धारणा राख्नुभयो । उहाँले बरु तालमेलको निर्णयपछि राजमोलाई उम्मेदवार छनोट पेचिलो बनेको बताउनुभयो । राजमोले मङ्गलबार साँझसम्ममा उम्मेदवारको टुङ्गो लगाउँदैछ ।

राजमो जिल्ला समिति बैठकले सम्भावित उम्मेदवारका रुपमा गत वर्ष निधन हुनुभएका प्रदेशसभा सदस्य घर्तीकी पत्नी सुनमाया घर्ती, जिल्ला उपाध्यक्ष धर्मबहादुर कुँवर र जिल्ला सदस्य खिमविक्रम शाहीको नाम पार्टी केन्द्रमा सिफारिस गरेको थियो । जिल्लाको राय, सुझाव र सिफारिसका आधारमा केन्द्रले उम्मेदवार छान्नेछ ।

नेकपाको समर्थनमा चुनाव लड्न लागेको राजमोको अबको मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस हुनेछ । बलियो जनाधार भएर पनि बाम गठबन्धकै कारण नेपाली काङ्ग्रेसले अघिल्लो चुनावमा हार व्यहोरेको थियो । यस उपचुनावमा पनि नेकपा–राजमो तालमेलले काङ्ग्रेसलाई चुनौती थपेको छ ।

विसं २०७४ को चुनावमा राजमोका घर्तीले ११ हजार ८८४ मत ल्याई विजयी बन्नुभएको थियो । घर्तीसँग पराजित काङ्ग्रेस उम्मेदवार जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको थियो । शेरचन उपचुनावमा पनि उम्मेदवार बन्न सक्ने बलियो सम्भावना छ । काङ्ग्रेसबाट महाधिवेशन प्रतिनिधि शेरचन, क्षेत्रीय सभापति द्रोण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्ती सम्भावित उम्मदेवारको सूचीमा हुनुहुन्छ ।

काङ्ग्रेस बागलुङका सभापति दिपेन्द्र थापामगरले मङ्गलबार साँझसम्ममा उम्मेदवारको अन्तिम टुङ्गो लाग्ने बताउनुभयो । विसं २०७० को संविधानसभा चुनावमा जिल्लाका तीनवटै निर्वाचन क्षेत्र जीतेको काँग्रेसले विसं २०७४ को चुनावमा भने सबै क्षेत्र गुमाएको थियो ।

वाम गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एकलौटी जीत हाँसिल गरेको थियो । प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा तत्कालीन एमाले, २ मा माओवादी केन्द्र विजयी बनेको थियो । यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ (क) मा एमाले, (ख) मा राष्ट्रिय जनमोर्चा, क्षेत्र नं २ (क) माओवादी केन्द्र र (ख) राष्ट्रिय जनमोर्चाले जितेको थियो ।

चुनावपछि भने एमाले–माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेको छ । त्यो बेलाको तीन दलीय वाम गठबन्धन अहिले दुईमा झरेको छ । नेकपा–राजमो सहमतिअनुसार बागलुङमा नेकपाले राजमोलाई सघाउने र कास्की–२, दाङ–३ (ख) र भक्तपुर–१ (ख) मा राममोले नेकपालाई सहयोग गर्ने निर्णय भएको छ ।

ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिका रहेको बागलुङ–२ (ख) ३५ हजार १८४ मतदाता छन् । निर्वाचनका लागि २४ मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । प्रदेशसभा सदस्यसँगै बडिगाड गाउँपालिका–२ मा पनि वडाध्यक्षका लागि उपचुनाव हुँदैछ ।

वडाध्यक्षमा निर्वाचित विष्णुप्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि उक्त वडामा पनि उपचुनाव हुन लागेको हो । वडाध्यक्षको चुनावका लागि नेकपाले ढालेन्द्र शेरचन र नेपाली काङ्ग्रेसले डिलबहादुर रानालाई उम्मेदवार बनाएको छ । अन्य दलले भने उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ ।

उक्त वडामा गएको चुनावमा तत्कालीन नेकपा (एमाले) का भुसालले ६१४ प्राप्त गरी विजयी हुनुभएको थियो । निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका होसियारसिंह थापाले ३२३ मत प्राप्त गर्नुभएको थियो । त्यस वडामा अहिले एक हजार ७७२ जना मतदाता छन् भने दुई मतदान केन्द्र छन् ।

प्रतिक्रिया