असोज १९ गतेदेखि तातोपानी नाका खुल्ने

admin

काठमाडौं : नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी सञ्चालन आउने भएको छ। कोरोना भाइरस (कोभिड-१९) को जोखिम कायमै रहेको स्वास्थ्य मापदण्डमा पूरा गरेर नाका सञ्‍चालन हुने भएको हो। मंगलबार सीमा नाकामा प्रमुख जिल्ला अधिकारी र चिनियाँ टोलीसँगबीचको छलफलपछि असोज १९ गतेबाट नाका सञ्चालन गर्ने सहमति बनेको हो।

निश्‍चित स्वास्थ्य मापदण्डमा रहेर नाका सञ्चालन गर्ने सहमति भएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए। चीनको न्यालमको ताल फुट्ने अवस्थामा रहेको र बाढीपहिरोले सडक अवरुद्ध भएपछि तातोपानी नाका बन्द छ। नाका बन्द भएपछि तातोपानी पारी खासामा पनि नेपाली व्यवसायीका डेढ सयभन्दा बढी कन्टेनरमा सामान थन्केको ६ महिना बितेको छ।

तातोपानी नाकाभन्दा करिब ३५ किमिमाथि चिनियाँ भूभागमा रहेको ताल विष्फोट हुन लागेकोले पानीको सहत घटाउन भन्दै नाका बन्द गरिएको थियो। २०७२ को विनाशकारी भूकम्पलगत्तै चीनले तातोपानी नाका बन्द गरेको थियो। चीनले पछिल्लो समय तातोपानी नाका समेत आंशिक रुपमा संचालनमा ल्याएको थियो।

तातोपानी नाकाबाट भूकम्पअघि दैनिक दुई करोडभन्दा धेरै राजस्व संकलन हुने गरेको थियो। चीनबाट नेपालमा वार्षिक करिब दुई खर्ब रुपैयाँका सामान आयात हुन्छ। पोहोर चीनबाट एक खर्ब ८१ अर्ब रुपैयाँको सामान आयात भएको थियो। चिनियाँ राजदूतावासले गत साता रसुवा र तातोपानी नाका खुलाउने निर्णय गरेको थियो।

प्रतिक्रिया