असोज २५ गतेदेखि सबै हल खुल्ने

admin

काठमाडौँ, १७ असोज : कोरोना महामारीका कारण डेढ वर्षदेखि वन्द रहेको चलचित्र उद्योग पुनः असोज २५ गते देखि दशैभर शुरु हुने भएको छ । सरकारले एक महिना अघि भदौं १५ गते स्वास्थ्य मापदण्ड पालना गरेर चलचित्र हलहरु सञ्चालन गर्न अनुमति दिएको थियो ।

चलचित्र निर्माता सङ्घले पहिलो चरणमा नेपाली चलचित्र रिलिज गरेर असोज २५ गतेदेखि देशैभरका फिल्महल सञ्चालनमा ल्याउने तयारी गरेको नेपाल चलचित्र सङ्घका अध्यक्ष मधुसूधन प्रधानले जानकारी दिनुभयो । हामी आइतबार थप बैठक बसेर नयाँ निर्णय गर्नेछाैं तर पहिलो चरणमा नेपाली चलचित्रबाट प्रदर्शन शुरु हुनेछ, उहाँले भन्नुभयो ।

सरकारले एक महिनाअघि नै हल सञ्चालन गर्न अनुमति दिए पनि लामो समयदेखि बन्द रहेको हल थप व्यवस्थापन र सरसफाइ गर्नुपरेकाले एक महिना ढिलाइ भएको अध्यक्ष प्रधानले बताउनुभयो । कोरोना महामारीमा कम मात्रामा चलचित्र निर्माण भएकाले दर्शकको रोजाइ र उपस्थितिलाई हेरेर क्रमस नेपाली चलचित्रहरु रिलिज गर्दै जाने उहाँले बताउनुभयो ।

हल सञ्चालक, फिल्म वितरक, चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, र नेपाल चलचित्र कलाकार सङ्घले व्यवसायलाई रणनैतिक ढंगले अघि बढाउने विषयमा छलफल शुरु गरेको संघले जनाएको छ ।

कोरोना महामारीले चलचित्र व्यवसाय प्रभावित बनेको छ । करोडौं रुपियाँ लगानीबाट निर्माण भएको चलचित्र रिलिज गरे पनि दर्शकको उपस्थिति नभए व्यवसायीलाई नोक्सान हुने भन्दै व्यवसायीहरुले दर्शकहरुमा स्वास्थ्यका दृष्टिले सुरक्षित र दर्शकको मनोवैज्ञानिक त्रास हटाउन योजनाबद्ध कार्यक्रम ल्याउने समेत तयारी थालेको जनाएको छ ।

यता चलचित्र विकास बोर्डले भने रिलिज हुने चलचित्रलाई प्रतिगोटा पाँच लाखसम्म राहतस्वरुप सहयोग गर्ने चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताउनुभयो । कोरोना महामारीका कारण देशभरका दुई सयभन्दा बढी हल पूर्णरुपमा बन्द रहेको सङ्घको भनाइ छ ।

डेढ वर्षदेखि करिब २१ वटा चलचित्र निर्माण भएर रिलिजको पर्खाइमा रहेको सङ्घले जनाएको छ । यता कोरोना महामारीकै बीच पाँचवटा चलचित्र निर्माण भएको र एउटा चलचित्र कोरोना महामारीमै निर्माण भएर रिलिज भएको थियो ।

प्रतिक्रिया