असोज ४ गतेदेखि काठमाडौंमा भेरोसेलको दोस्रो डोज लगाइने

admin

काठमाडौं, १ असोज : काठमाडौं जिल्लामा आउँदो सोमबार असोज ४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना निकालेर सोमबारदेखि तीन दिन काठमाडौंमा भेरोसेलको दोस्रो मात्रा खोप लगाउने जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं महानगरपालिकाको ३२ वटै वडा, कीर्तिपुर नगरपालिकामा १० ठाउँमा र चन्द्रागिरि नगरपालिकामा १५ ठाउँमा खोप लगाइनेछ । यस्तै तार्केश्वर नगरपालिकाको ११ ठाउँ, नागार्जुन नगरपालिकाको १० ठाउँ, दक्षिणकाली नगरपालिकाको नौ ठाउँ, बूढानीलकण्ठ नगरपालिकाको १३ ठाउँ, टोखा नगरपालिकाको ११ ठाउँ, गोकर्णेश्वर नगरपालिकाको नौ ठाउँ, शङ्करापुर नगरपालिकाको नौ ठाउँ र कागेश्वरी मनोहरा नगरपालिकाको नौ ठाउँमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइने छ ।

यस्तै नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति गृह, स्त्री रोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालमा पनि खोप केन्द्र तोकिएको छ । यसैबीच काठमाडौं उपत्यकामा ८४ प्रतिशतभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । उपत्यकामा रहेका खोपयोग्य जनसङ्ख्यामध्ये ४० प्रतिशतले पूर्णमात्रा र ४४ दशमलव ३३ प्रतिशतले एक मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा १५ लाख ५५ हजार आठ सय ९५ जनाले पहिलो मात्रा र ११ लाख ७१ हजार चार सय २० जनाले पूर्ण मात्राको खोप लगाएका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कम्तीमा ६० प्रतिशत जनसङ्ख्यालाई पूर्ण मात्रा खोप लगाएमा रोगको नियन्त्रण गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया