अहिंसाका पक्षधरको एकता नै हिंसा विरुद्धको अभियान हो : मन्त्री थापा

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २२ कात्तिक: महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले समाजमा हुने सबै खालको हिंसा अन्त्यका लागि अहिंसाका पक्षधर मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभएको छ ।

महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउने सन्दर्भमा मन्त्रालयमा आज आयोजित सरोकारवाला निकायसँगको छलफलमा मन्त्री थापाले समाजमा हुने अनेक प्रकारका हिंसालाई न्यूनीकरण गर्न सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

सरकारले लैङ्गिक हिंसा विरुद्धको अभियान वर्ष २०७६ सञ्चालन गरिरहेको जानकारी गराउँदै मन्त्री थापाले कुनै पनि खालका हिंसा र विभेद्का विरुद्ध समाजका चेतनशील नागरिक जागरुक हुनुपर्ने आवश्यक्ता औल्याउनुभयो ।

विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाका व्यक्ति सहभागी कार्यक्रममा महिला हिंसा विरुद्धको १६ दिने अभियान मनाउन मूलसमारोह समिति गठन र तयारी, महिला हिंसा विरुद्धको १६ दिने अभियानको यो वर्षको नारा तय गर्ने विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया