अहिलेसम्म २५ लाख नेपालीले कोरोना खोप पाए

admin

काठमाडौं, १ जेठ : अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अहिलेसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र नेपालमा २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिएका छन् ।

उनका अनुसार भारत सरकारले उपहारस्वरुप दिएको कोभिशिल्ड खोप १० लाख डोज, भारत सरकारसँग खरिद गरिएको कोभिशिल्ड खोप १० लाख डोज, कोभ्याक्स सुविधा अन्र्तगत ३ लाख ४८ हजार डोज र नेपाली सेनालाई प्राप्त १ लाख डोज गरी २४ लाख ४८ हजार डोज कोभिशिल्ड खोप प्राप्त भएको र चीनबाट ८ लाख डोज भेरोसेल खोप गरी जम्मा ३२ लाख ४८ डोज खोप प्राप्त भएको हो ।

त्यसमध्ये २५ लाख डोज खोप लगाइसकिएको छ । मौज्दातमा ७ लाख डोज खोप रहेको र भेरोसेल खोप लगाउन शुरु गरिएको उनले जानकारी दिए । भारतसँग २० लाख डोज खोप खरिद गरेको भए पनि १० लाख मात्रै आएको र १० लाख डोज आउन बाँकी रहेको उनले जानकारी दिए । भारतसँग छलफल भइरहेको र छिट्टै खोप आउने उनको भनाई छ ।

स्पुतनिक भि खोप लगायतका अन्य खोपहरु ल्याउने सम्बन्धमा समन्वय तथा कुराकानी भैरहेको सह-प्रवक्ता अधिकारीले जानकारी दिए । गएको चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुलाई काठमाडौं र ललितपुर महानगरले भोलिदेखि दोस्रो डोज लगाउन सुरु गर्दैछन् । १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकले खोपको पहिलो डोज लिएका थिए ।

यस्तै कोरोना भाइरसको संक्रमण बढिरहेको बेला देशभरी ९० वटा प्रयोगशालाबाट पीसीआर परिक्षण भइरहेको छ । अहिले एन्टीजेन परिक्षणमा पोजेटिभ देखिएका र कन्ट्याक्ट ट्रेसिङ्गमा परेकाको पीसीआर परीक्षण भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सह-प्रवक्ता अधिकारीले अस्पताल तथा प्रयोगशालालाई आवश्यक स्वास्थ्य सामाग्री तीन महिनालाई पुग्ने मौज्दात रहेको बताए । मौज्दातमा रहेका स्वास्थ्य सामग्री प्रयोग हुँदै गर्दा थप उपचारका सामाग्री सहयोगका लागि बिभिन्न निकाय तथा दाताहरुसँग पत्राचार गरिएको पनि उनले बताए ।

प्रतिक्रिया