आइपुग्यो कोरोनाको १५ लाख मात्रा खोप

admin

काठमाडौँ, मङ्सिर २३ : अमेरिकी कम्पनी मोडर्नाको कोरोना विरुद्धको करिब १५ लाख मात्रा खोप आज (बिहीबार) नेपाल आइपुगेकाे छ। यो खोप कतार एयरवेजले दिउँसो ३ बजे काठमाडौं ल्याएको हाे।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले गाभी र काेभ्याक्स सुविधामार्फत आज मोडर्नाको १४ लाख ९८ हजार ६ सय मात्रा खोप आएको बताए।

विभागले सो खोप टेकुस्थित केन्द्रीय भण्डारकक्ष र त्रिभुवन विमानस्थलस्थित भण्डारकक्षमा राखिएको जानकारी दिएको छ। अधिकृत थापाका अनुसार यसपछि आइतबार पनि मोडर्नाकै १९ लाख ६५ हजार ६ सय मात्रा खोप फेरि आउँदैछ।

आइतबार आउने खोपसँगै मोडर्ना खोपको कूल मात्रा ३६ लाख ५१ हजार ६ सय हुनेछ। गएको शुक्रबार पनि मोडर्नाको १ लाख ८८ हजार मात्रा खोप आएको थियो।

अधिकृत थापाका अनुसार बुधबार कोभिशिल्डको ६ लाख मात्रा खोप आएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभ्याक्स सुविधाअन्तर्गत पाएको मोडर्नाको खोप स्कुलहरूमै खाेप केन्द्र राखेर १८ वर्षभन्दा मुनिका बालबालिकालाई लगाइने जनाएको छ।

प्रतिक्रिया