आकाश खुले पनि प्रदूषण उस्तै

admin

काठमाडौं, ५ बैशाख : देशका धेरैजसो ठाउँमा मौसम सफा भएसँगै आकाश खुलेको छ । अहिले गण्डकी, कर्णाली र सुदूरपश्चिमका उत्तरी क्षेत्रको आकाशमा मात्रै बादल लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश-१, प्रदेश-२, लुम्बिनी र वाग्मतीमा मौसम खुलेको हो ।

काठमाडौं उपत्यकासहित पहाडी र तराईका धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले बताए । विगत केही दिनदेखिको तुवाँलोका कारण देशभरको मौसम प्रभावित बनेको थियो । केही दिनयता परेको पानी र बेलुकीपख चलेको हावाले आकाश खुल्न थालेको हो ।

(आज) आइतबार बेलुकीपख पनि वाग्मतीसहित पहाडी र तराई क्षेत्रमा मौसम बद्ली हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आकाश खुले पनि वातावरण प्रदूषणको अवस्थामा भने सुधार आउन सकेको छैन । देशका विभिन्न भागमा लागेको डढेलोका कारण गएको चैत १३ गतेदेखि काठमाडौं उपत्यकामा प्रदूषण बढेको थियो । वातावरण प्रदूषणको मात्रा मापन गर्ने सूचक एक्यूआईमा अहिले पनि काठमाडौं पहिलो प्रदूषित सूचीमा रहेको छ ।

काठमाडौंको आइतबार बिहान दश बजेको एक्यूआई एक सय ६८ रहेको छ । बुटवलको एक सय ५२ रहेको छ । डब्ल्यूएचओले एक्यूआई ३५ सम्मलाई स्वस्थ अर्थात राम्रो ५१ देखि १ सयसम्मलाई सामान्य, २ सय एकभन्दा माथिलाई धेरै अस्वस्थकर ३ सय एकभन्दा माथिलाई घातक मापदण्ड तोकेको छ ।

प्रतिक्रिया