आगलागीबाट दुई घर नष्ट, एक बालिका बेहोस

राष्ट्रिय समाचार समिति

राजविराज, २७ कात्तिक: सप्तरीको छुट्टाछुटै स्थानमा मङ्गलबार भएको आगलागीबाट दुई घरमा क्षति भएको छ । जिल्लाको रुपनी गाउँपालिका–३ मा आगलागी हँुदा करीब रु दुई लाख मूल्य बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।

फाइल तस्बिर

स्थानीयवासी विनोदकुमार मण्डलको एकतले टिनको छानो भएको फुसको घरमा विद्युतीय तार सर्ट भई आगलागी हँुदा उक्त घर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । सो आगलागीमा घरभित्र रहेका लताकपडा, अन्नपात, भाडावर्तन, नगद जिन्सीसहित एक थान मोबाइल गरी करीब रु दुई लाख मूल्य बराबरको सरसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरीको विष्णुपुर गाउँपालिका–१ खुरहुरियाका सीताराम यादवको एकतले फुसको घर जलेर नष्ट भएको छ । भान्साघरमा खाना पकाउने क्रममा चुल्होबाट आगो सल्किँदा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । उक्त आगलागीबाट फुसको घर आंशिकरूपमा जलेर नष्ट भएको र सो घरभित्र रहेको लत्ताकपडा, अन्नपात गरी करीब रु ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागी भएको ठाउँमा सो आगो देखिरहेकी सीताराम यादवका १५ वर्षीया छोरी सङ्गीताकुमारी यादव बेहोस भएकी छन् । बेहोस भएकी उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया