आगामी चुनावमा प्रचण्डसँग लड्न तयार छु, एमसीसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्छ : बादल

admin

काठमाडौं, ८ असोज : नेकपा एमालेका नेता रामबहादुर थापा बादलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आगामी निर्वाचन लड्न तयार रहेको बताएका छन् । शुक्रबार चितवनमा पत्रकार सम्मेलनका क्रममा उठेका प्रश्नको जवाफ दिँदै थापाले सो बताएका हुन् ।

दुवै नेताको गृहजिल्ला चितवन भएको हिसाबले आगामी निर्वाचनमा दुई नेताको भिडन्त हुन्छ भनी उनलाई प्रश्न सोधिएको थियो । ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा चुनाव घोषणा भइसकेपछि पार्टीले निर्णय गर्नेछ,’ उनले भने, ‘त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्छ ।’ उनले दाहाल पार्टीको लाइनलाई छाडेर पलायन भएको बताए । नयाँ गुट बनाएर दाहाल दक्षिणपन्थी र लोकतन्त्रविरोधी पक्षमा लागेकोसमेत उनको आरोप छ ।

दाहाल र बादल दुवै चितवनका हुन् । उनले माओवादी कार्यकर्ताहरु आफूतिर आइरहेको पनि बताए । पूर्वमाओवादी नेता बादलले भने, ‘माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा स्वयं प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।’

उनले सभामुख अग्नि सापकोटाको पनि आलोचना गरे । सभामुख सापकोटाले निष्पक्ष निर्णय नगरेर पार्टीको कार्यकर्ताको भूमिका निर्वाह गरिरहेको आरोप बादलले लगाए । उनले भने, ‘उहाँले (सभामुख सापकोटाले) लोकतन्त्र, विधि उल्लंघन गरिराख्नु भएको छ ।’ अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता र समृद्धिको विरुद्धमा लागेको आरोप उनले लगाए । अर्को एक प्रसंगमा उनले अमेरिकी सहयोग परियोजना एमसीसीलाई परिमार्जन गरेर स्वीकार गर्नुपर्ने पार्टीको धारणा रहेको बताए ।

प्रतिक्रिया