आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने : मन्त्री बाँस्कोटा

रिता घिसिंग

काठमाडौँ : आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने–मन्त्री बाँस्कोटा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आगामी वर्ष नेपाली पत्रकारिता क्षेत्र सुरक्षा र सम्मानको वर्ष हुने बताउनुभएको छ ।

१६औँ अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासङ्घ, युनेस्को र निर्वाचन आयोगको संयुक्त आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उहाँले प्रेसमाथि अङ्कुश लगाउने सरकारको कुनै पनि योजना नरहेको स्पष्ट पार्दै समाचार लेखेको भरमा पत्रकार पीडित बन्नुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।

सञ्चारगृह कसैको अभिष्ट पूरा गर्ने थलो भन्न नहुने बताउँदै मन्त्री बाँस्कोटाले सञ्चारगृह सरकारप्रति होइन जनताप्रति उत्तरदायी बन्नुपर्छ भन्नुभयो । सबै सञ्चार गृहमा न्यूनतम पारिश्रमिक लागू गराएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दै उहाँले श्रमजीवीको शोषण अब स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।

उहाँले सरकारले सामाजिक सञ्जाल नियमन गर्न खोजेको बताउँदै यो संसारभर चलेको सिद्धान्त हो भन्नुभयो । समाचारको विश्वसनीयतामाथि गम्भीर प्रश्न खडा भएको बताउँदै उहाँले सञ्चारगृहलाई विश्वासिलो सूचना प्रवाह गर्न र जनविश्वासआर्जन गर्न आग्रह गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले सङ्ख्यात्मक हिसाबले नेपाली मिडिया बढेको बताउँदै सङ्ख्या बढेसँगै गुणस्तर खस्किएको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले निर्वाचन प्रणालीलाई आमूलपरिवर्तन गर्ने प्रक्रिया आफूले थालनी गरेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ, पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्य, पूर्व अध्यक्ष हरिहर विरहीलगायतले शसस्त्र द्वन्द्वकालमा मारिएका पत्रकारका हत्यारालाई कारवाही नहुँदा मुलुकमा दण्डहीनता बढेर गएको बताउनुभयो । प्रेस स्वतन्त्रता उल्लङ्घन हुनुमा पत्रकार पनि दोषी भए नभएको खोजी गर्ने बेला आएको उहाँहरुको धारणा थियो ।

सो अवसरमा महासङ्घले महासङ्घका पूर्व अध्यक्ष धर्मेन्द्र झा, वरिष्ठ पत्रकारद्वय गोपाल गुरागाईं र सङ्गीता लामालाई ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान ग¥यो । उहाँहरुलाई मन्त्री बाँस्कोटाले दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गर्नुभयो । सो अवसरमा महासङ्घद्वारा प्रकाशित प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिक गरियो । प्रतिवेदनमा प्रेस स्वतन्त्रता उल्लघङ्नका ६० वटा घटनामा ७७ पत्रकार र पाँचवटा सञ्चार गृह प्रभावित भएको जनाइएको छ ।

प्रतिवेदनमा यसवर्ष मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको कार्यालयबाट घर फर्कंदै गर्दा लागुऔषध दुव्र्यसनीबाट हत्या भएको उल्लेख छ । त्यसैगरी गिरफ्तारीमा १२, बेपत्तामा एक, कब्जामा छ, आक्रमणमा १५, दुव्यवहार÷धम्कीमा २५ वटा घटना घटेका छन् ।

गत वर्षको तुलनामा यसवर्ष प्रेस स्वतन्त्रता हनन्का घटनामा केही कमी भए पनि अझै पनि प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अबस्थालाई सन्तोषजनक मान्ने नसिकने अवस्था नभएको महासङ्घको भनाइ छ ।

प्रतिक्रिया