आजदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु, कहाँ कहिले हुँदै छ उडान ? (सूचीसहित)

admin

काठमाडौं, १० असार : बिहीबारदेखि केही अन्तर्राष्ट्रिय विशेष उडान शुरु भएका छन् । नेपाल एअरलाइन्सले कतारको दोहा र टर्किस एअरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ । हिमालय एअरलाइन्सले क्वालालम्पुर, जजिरा एअरले कुवेत, फ्लाइ दुबईले दुबई, सलाम एअरले ओमान र एअर अरेबियाले आबुधाबीमा उडान गर्नेछन् ।

नेपाल एअरलाइन्सले जापानको उडान गर्नेछ । मन्त्रिपरिषद्को निर्णय अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले असार १७ गतेदेखि नियमित आन्तरिक उडान शुरु गर्ने जनाएको छ । असार १७ गतेदेखि कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी आन्तरिक हवाई उडानको व्यवस्था मिलाउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिइएको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले जुन ३० सम्मका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नेपालमा कोरोना महामारीको दोस्रो लहर फैलिएसँगै रोकिएको अन्तर्राष्ट्रिय उडान सरकारले विभिन्न श्रम गन्तव्य देशमा खुलाउने निर्णय गरेसँगै मन्त्रालयले उडान तालिका सार्वजनिक गरेको हो । मन्त्रालयले सार्वजनिक गरेको तालिका अनुसार (आज) बिहीबार नेपाल एयरलाइन्सले कतारको दोहा र टर्किस एयरलाइन्सले इस्तानबुलबाट उडान भर्नेछ ।

२५ जुनमा नेपाल एयरलाइन्सको जहाज जापान जाने तालिका छ भने एयर इन्डियाको जहाज दिल्लीबाट काठमाडौं आउनेछ । २६ जुनमा कतार एयरवेजको जहाज दोहाबाट काठमाडौं आउनेछ । टर्किस एयरलाइन्सको जहाज इस्तानबुलबाट काठमाडौं आउने र एयर अरेबियाको जहाज आबुधाबीबाट काठमाडौं आउने गरी उडान तालिका तय भएको छ । २७ जुनमा नेपाल एयरलाइन्सले दोहा, हिमालय एयरलाइन्सले क्वालालाम्पुर र दुबईमा एक/एक उडान गर्नेछन् ।

कतार एयरवेज दोहाबाट काठमाडौं आउने छ भने जजिरा एयरवेज कुवेतबाट काठमाडौं आउने उडान तालिका छ । २८ जुनमा कतार एयरवेजले दोहाबाट उडान गर्नेछ भने नेपाल एयरलाइन्स यूएईको दुबई जाने छ । हिमालय एयरलाइन्सले साउदीको दमाममाका लागि उडान भर्ने तालिका तय भएको छ । २९ जुनमा नेपाल एयरलाइन्स दोहा जाने र टर्कीबाट टर्किस एयरलाइन्स नेपाल आउने तालिका छ । फ्लाई दुबई दुबईबाट र ओमानबाट सलाम एयरको जहाज काठमाडौं आउने छन् ।

३० जुनमा कतार एयरवेजले दोहा, जजिरा एयरवेजले कुवेतबाट उडान गर्ने गरी तालिका तय भएको छ भने नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम उडान भर्ने तालिका पर्यटन मन्त्रालयले सार्वजनिक गरेको छ । गएको बैशाख २३ गते मध्ये रातिदेखि सरकारले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाएको थियो । जेठ १८ गतेदेखि कतार, चीन र टर्कीबाट सातामा एक उडान हुने गरी अन्तर्राष्ट्रिय उडान खुलाइएको थियो ।

प्रतिक्रिया