आजदेखि प्रशासन कार्यालयका काम नियमित, निजी गाडीमा जोर-बिजोर, बारअनुसार पसल-व्यवसाय सञ्चालन

admin

काठमाडौं, ८ असार : काठमाडौं उपत्यकासहितका जिल्लामा (आज) मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ । काठमाडौंमा मंगलबारदेखि जोर-बिजोरका आधारमा निजी गाडी सञ्चालन हुन थालेका छन् । मंगलबार काठमाडौं उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो-रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ ।

यी पसल आइतबार र बिहीबार पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यस्तै शपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ पसल सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने छ ।

खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री, खेलकुद सामग्री, डिपार्टमेन्टल स्टोर, स्टेशनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ । निर्माणजन्य सामग्री पसल हार्डवेयर, स्यानिटरी, फर्निचर कार्पेटिङ दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी काठमाडौं उपत्यकाभित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । वर्कशप बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ । सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन क्षेत्र, सैलुन, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, दर्शकसहितका खेलकुद तथा भीडभाडका कार्यक्रम सञ्चालन गर्न पाइने छैन ।

फुटपाथको व्यापार पनि रोक लगाइएको छ । अब घरबाट निस्कन पाइने भएको छ । तर स्वास्थ्यका मापदण्ड भने पालन गर्नुपर्नेछ । सार्वजनिक गाडी आउँदो १४ गते रातिसम्म सञ्चालनमा रोक लगाइएको छ । मोटरसाइकल तथा स्कुटरसहित निजी गाडी जोर-बिजोर चल्न पाउने भएका छन् । (आज) मंगलबार जोर गते भएकाले पछिल्लो नम्बर जोर भएका निजी गाडी सञ्चालन गर्न पाइनेछ ।

कार, जीप, भ्यानमा बढीमा चार जना, ट्याक्सीमा बढीमा तीन जना हुनुपर्नेछ । पठनपाठन अनलाइन तथा वैदेशिक अध्ययन र डीभी परेका व्यक्ति तथा कुटनीतिक नियोगबाट सञ्चालन हुने परीक्षा तथा भिसा अन्तवार्ताका कार्यक्रम सञ्चालन हुनेछन् ।

उद्योग तथा कलकारखाना र निर्माणका काम गर्दा पनि स्वास्थ्य मापदण्ड पालना गरी गर्न जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेका छन् । सरकारी कार्यालयमा आलो पालो गरी न्यूनतम जनशक्तिबाट सेवा दिने तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गने निर्णय भएको छ ।

उपत्यकाबाहेकका अरु जिल्लाहरुले पनि यसैगरी निषेधाज्ञा खुकुलो बनाएका छन् । धेरै जिल्लाहरुमा पछिल्लो पटक थपिएको निषेधाज्ञा (हिजो) सोमबारदेखि सकिएको थियो । ती जिल्लाहरुमा पनि निषेधाज्ञाको अवधि एक हप्ता थप्दै खुकुलो बनाइएको हो । खोटाङ र मनाङबाहेकका जिल्लामा निषेधाज्ञा लाग्दै आएको छ ।

उपत्यकामा प्रशासन कार्यालयका काम आजदेखि नियमित
काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले यसअघि स्थगित गरिएका सम्पूर्ण सेवा मंगलबारदेखि नियमित सञ्चालनमा ल्याउने भएका छन् । गएको बैशाख १३ गतेदेखि अत्यावश्यकबाहेकका सम्पूर्ण सेवा स्थगित गरिएको थियो । जनस्वास्थ्यका मापदण्ड पूरा गरी सम्पूर्ण सेवा सञ्चालन हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।

कोरोना संक्रमण जोखिम बढेपछि गएको बैशाख १६ गतेदेखि स्वास्थ्य, शान्ति सुरक्षालगायतका अत्यावश्यक सेवाबाहेक अरु बन्द भएका थिए । नागरिकता, परिचयपत्र, राहदानी वितरण, सिफारिस जस्ता सेवा प्रवाह हुनेछन् । जिल्ला प्रशासन कार्यालय ललितपुरले पनि विज्ञप्ति निकालेर सबै सरकारी एवं सार्वजनिक निकायलाई नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन भनेको छ ।

ललितपुरमा महानगरवासीले आइतबार, सोमबार र मंगलबार नागरिकता, प्रतिलिपि, नाबालिग परिचयपत्र, राहदानीका सेवा लिन पाउने सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । त्यस्तै तीन गाउँपालिकाका बासिन्दाले बुधवार, गोदावरी र महालक्ष्मीनगरवासीले बिहीबार र शुक्रबार सेवा लिन पाउने छन् ।

सङ्घसंस्था दर्ता सोमबार र बुधबार तथा सङ्घसंस्था नवीकरण आइतबार, मंगलबार र बिहीबारका साथै पत्रपत्रिका तथा छापाखाना दर्ता र विधान संशोधन शुक्रबार हुनेछ । काठमाडौं उपत्यकामा पछिल्लो पटक थपिएको निषेधाज्ञा गएराति १२ बजेदेखि सकिएको छ ।

अस्ति तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले मंगलबारदेखि निषेधाज्ञा खुकुलो बनाउनेसहित सरकारी सेवा प्रवाह तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया