आजदेखि मौसममा सुधार हुँदै जाने

admin

काठमाडौं, २५ जेठ : केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आइतबारदेखि सुधार हुँदै जाने भएको छ ।

सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भएकाले क्रमशः सुधार हुँदै जाने मौसमविद् मीनकुमार आर्यालले जानकारी दिए ।

हाल देशको प्रदेश नं ५, कर्णाली, गण्डकी, वाग्मती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा सामान्य बदली रही प्रदेश नं १ तथा प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको तराई भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली भई प्रदेश नं १, वाग्मती, गण्डकी प्रदेश तथा प्रदेश नं ५ का थोरै स्थानका साथै कर्णाली तथा सुदूरपश्चिम प्रदेश र प्रदेश नं २ का एक-दुई स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १७ दशमलव दुई डिग्री र अधिकतम तापक्रम २६ दशमलव दुई डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव नौ डिग्री सेल्सियस र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३३ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

प्रतिक्रिया