आजदेखि शुक्रबारसम्म देशका केही ठाउँमा पानी पर्ने

admin

काठमाडौं, ५ असोज : सोमबारदेखि पाँच दिनसम्म देशका केही ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । 

अहिले उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यूनचापीय क्षेत्र पश्चिम, उत्तर-पश्चिमतर्फ सर्ने क्रममा रहेकाले नेपालका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए ।

उनका अनुसार आज दिउँसो देशभर सामान्यतया बद्ली भएर केही ठाउँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ । प्रदेश नम्बर १ र २ का केही ठाउँहरुमा हावाहुरीको समेत सम्भावना छ ।

राति प्रदेश १, २ र वाग्मती प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । प्रदेश १, २ वाग्मती, गण्डकी र प्रदेश ५ का केही ठाउँमा हावाहुरीसमेत आउने सम्भावना छ ।

यस्तै मंगलबारदेखि आउने शुक्रबारसम्म नै प्रदेश १, २, वाग्मती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका धेरैजसो ठाउँमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् कँडेलले बताए ।

अरु ठाउँहरुमा पनि ठूलो पानी पर्ने सम्भावना छ । अबको केही दिन नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह समेत गरेको छ ।

प्रतिक्रिया