आज अन्तराष्ट्रिय बालिका दिवस : किशोर-किशोरी लक्षित ‘आर्ट इज पावर’ कार्यक्रम

admin

काठमाडौं, २५ असोज : (आज) आइतबार अन्तराष्ट्रिय बालिका दिवस । अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा प्लान इन्टरनेशनल नेपालले किशोर-किशोरीहरुलाई आफ्ना समस्या र मुद्दालाई कलाको माध्यमबाट अभिव्यक्त गर्न सघाउने उद्देश्यले ‘आर्ट इज पावर’ नामक कार्यक्रम आयोजना गरेको छ ।

प्लान इन्टरनेशनल नेपालकी राष्ट्रिय निर्देशक लिज सातोले भनिन्, “हाम्रो विश्वव्यापी अभियानको अंगको रुपमा हामीले युवा जमात् खास गरी किशोरीहरुलाई कलाको माध्यमबाट आवाज उठाउने मौका दिनका लागि यो कार्यक्रम आयोजना गरेका हौ ।, किशोरकिशोरीहरुको आवाजले बालबालिकाको अधिकार र किशोरीको समानताका लागि सरकारको प्रतिवद्धतालाई कार्यान्वयनका लागि स्मरण गराउनेछ ।”

सुनसरी, सिन्धुली, मकवानपुर, बाँके, बर्दिया, जुम्ला, कालिकोटका गरी २१४ किशोरीसहित २५० जना किशोर-किशोरीहरुले भर्चुअल आर्ट वर्कसपमा सहभागिता जनाएका छन् । उनीहरुले शब्दमार्फत् तयार पारेको रचनालाई कलाकारहरुले भिजिअल आर्ट तयार पार्नेछन् । १८ वर्षमुनिका किशोरकिशोरीलाई कविता, कथावाचन, गीत, रचनासहितका माध्यमबाट कला सृजना गर्नेबारे प्रशिक्षित गरिएको थियो ।

यो कार्यक्रमले पिछडिएका समुदायका किशोरी र किशोरलाई उनीहरुको आवाज र चासोका बिषयलाई नीति निर्मातासम्म पुर्‍याउने अवसरमा प्रदान गर्ने लक्ष्य राखेको छ । ५ जना क्यानभास कलाकारसहित ११ जना कलाकारले किशोरकिशोरीलाई कलाको माध्यमबाट आफ्नो बारेमा बताउने तरिका र सीप सिकाएका थिए ।

सिन्धुलीका लागि भर्चुअल सेसन सञ्चालन गरेकी कलाकार शुभाङ्गी खड्काले भनिन्, “प्रशिक्षण कार्यक्रम कथा लेखन र कथा वाचनको महत्वबारे केन्द्रित थियो । यसमा सिकाइएको बिषयवस्तुबाट सहभागीलाई परिवार र समाजमा विद्यमान शक्ति संरचनाबारे सोच्न र लेख्न सहयोग पुगेको छ ।”

किशोरकिशोरीले तयार पारेको कलाहरुलाई आगामी नोभेम्बर २५ मा महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा भर्चुअल माध्यमबाट प्रदर्शनी गरिनेछ । आर्ट इज पावर कार्यक्रम नेपालमा प्लान इन्टरनेशनलको गल्र्स गेट इक्वेल अभियान अन्तर्गत भएको हो, जसले समान शक्ति, स्वतन्त्रता र प्रतिनिधित्वको माग गरेको छ ।

यो अभियान नेपालमा मार्च ८, २०१९ मा शुभारम्भ भएपश्चात् लैंगिक समानताका लागि वातावरण निर्माण गर्न किशोरकिशोरीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराइएको छ । आर्ट इज पावर आयोजना भएको यो लगातार दोस्रो वर्ष हो । यो वर्ष कोभिड-१९ को महामारीका कारण प्लान इन्टरनेशनलले “कालो १०१” नामक संस्थाको साझेदारीमा भर्चुअल माध्यमबाट कार्यक्रम आयोजना गरेको हो ।

प्रतिक्रिया