आज अस्ट्रेलियाबाट २७५ जना नेपाली स्वदेश फर्कंदै, कुवेतबाट १६० आइपुगे

admin

काठमाडौं, ९ असार : मंगलबार अस्ट्रेलियबाट २७५ जना नेपाली स्वदेश फर्कंदैछन् । अस्ट्रेलियाको सिड्नीबाट त्यहाँ कोरोनाको कारण समस्यामा परेका नेपालीको उद्धारका लागि पहिलो चार्टर्ड उडानमार्फत मंगलबार २७५ जना फर्कंदै गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

जहाजमा चार महिनादेखि लकडाउन परेका नेपालीहरु छन् । उनीहरु आफ्ना छोराछोरीलाई भेट्न अस्ट्रेलिया पुगेका अभिभावकहरु हुन् । जहाजमा न्युजिल्याण्डमा रहेका ११ जना नेपालीहरु पनि छन् ।

अस्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा मेलबर्नबाट हुनेछ । मंगलबार नै बंगलादेश, माल्दिभ्स र साउदीको जेद्दाबाट पनि नेपालीहरु स्वदेश फर्कंदैछन् ।

यस्तै, कुवेतबाट १६० जना नेपाली काठमाडौं आइपुगेका छन् । कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाडौंसम्म ल्याइदिएको हो ।

आममाफीमा सहभागी भएका झण्डै तीन हजार जनालाई कुवेत सरकारले दिनहुँ एक उडानमार्फत काठमाडौंसम्म निःशुल्क ल्याइदिइरहेको छ । आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ ।

यसैगरी कतारको दोहाबाट पनि १४५ जना नेपाली मंगलबार स्वदेश फर्किएका छन् । कतारमा कोरोनाको कारण विभिन्न समस्यामा परेकामध्ये दूतावासले प्राथमिकताको आधारमा १४५ जनालाई दोस्रो उडानमार्फत मंगलबार स्वदेश फर्काएको हो ।

हिमालय एअरलाइन्सको चार्टर्ड उडानमार्फत मंगलबार बिहानै नेपालीहरु स्वदेश आइपुगको छन् । दूतावासका अनुसार फर्कनेमा ६१ जना महिला र ८४ जना पुरुष रहेका छन् ।

प्रतिक्रिया