आज एक हजार चार सय ७८ जनामा संक्रमण पुष्टि, थप १ लाख ५६ हजारभन्दा धेरै जनालाई खोप लगाइयो

admin

काठमाडौं, ६ असोज : बुधबार देशभर एक हजार चार सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार नौ सय ३० जनाको नमुना परीक्षण गर्दा एक हजार चार सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १० दशमलव ६१ प्रतिशतमा संक्रमण देखिएको हो । बुधबार थपिएकासहित कोरोना संक्रमण पुष्टि हुनेको संख्या आठ लाख ७७ हजार चार सय ३७ पुगेको छ । यस्तै बितेको २४ घण्टामा एक हजार ६ सय ३० जना संक्रमणमुक्त भएसँगै निको हुनेको संख्या सात लाख ५५ हजार ६ सय ३० पुगेको छ ।

यही अवधिमा थप ६ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ५९ पुगेको छ । अहिले नेपालमा २१ हजार एक सय ३९ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेकामा तीन सय ३४ जनाको आईसीयू र एक सय १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यस्तै बितेको २४ घण्टामा एक लाख ५६ हजार १८ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । योसहित नेपालमा ५७ लाख ५२ हजार आठ सय ५३ जनाले पूर्ण मात्रा र ६२ लाख ६२ हजार सात सय ८० जनाले एक मात्रा खोप लगाएका छन् । काठमाडौं उपत्यकामा ४० प्रतिशत खोप योग्य मानिसले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

(अस्ति) सोमबारसम्मको तथ्याङ्क विश्लेषण गर्दा काठमाडौंमा ४१ प्रतिशत, भक्तपुरमा ४१ प्रतिशत र ललितपुरमा ३८ प्रतिशत मानिसले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

सरकारले दशैँअघि ३३ प्रतिशतलाई कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउने लक्ष्य लिएकोमा काठमाडौं उपत्यकामा लक्ष्य पूरा भइसकेको हो । वाग्मती प्रदेशमा २९ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् ।

प्रतिक्रिया