आज ओमानबाट १६६ नेपाली स्वदेश फर्कंदै

admin

काठमाडौं, १ असार : ओमानमा अलपत्र परेका १६६ जना नेपाली सोमबार स्वदेश फर्कंर्दै छन् । ओमानमा रहेको नेपाली दूतावासले सलाम एअरमार्फत नेपालीलाई स्वदेश फर्काउन लागेको हो ।

ओमानबाट सलाम एअर दिउँसो साढे १ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिएका छन् ।

सरकारले तोकेको भाडाभन्दा सस्तो दरमा दूतावासले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको व्यवस्था मिलाएको छ । एकतर्फी उडानको भाडा ११५ ओमानी रियाल अर्थात सोमबारको विनिमय दर अनुसार ३६ हजार २ सय ६१ रुपैयाँ तोकेको छ ।

सरकारले उद्धार उडानका लागि हुने चार्टर्ड जहाजको भाडा तीन पटक घटाएर ओमानका लागि ३६८ अमेरिकी डलरमा झारेको छ । यो भनेको सोबारको विनिमयदर अनुसार ४४ हजार ६७३ रुपैयाँ हो ।

ओमानबाट फर्कनेको साथमा पीसीआर जाँचको नेगेटिभ रिपोर्ट साथमा भएपछि क्वरेण्टीनमा बस्न नपर्ने र सिधै होम क्वरेण्टीनमा जान पाइने दूतावासले जनाएको छ । दोस्रो उडान असार ४ गते हुँदैछ । यो उडानमार्फत १८० जना नेपाली स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया