आज किरात समुदायको महान पर्व उभौली : यो वर्ष पनि नाच स्थगित

admin

काठमाडौं, १२ जेठ : प्रकृति र पितृको पूजा गरी आज किरात समुदायको महान चाड उभौली पर्व मनाइँदै छ । खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस् भन्ने कामनासहित किरात समुदायले बाली लगाउने समय पारेर पितृ तथा भूमिको पूजाआजा गरी उभौली पर्व मनाउने प्रचलन छ ।

बालीनाली नबिग्रीयोस् भनेर प्रकृतिको पूजा गरेर मनाइने यो पर्वमा किरात विधिअनुसार सुम्निमा र पारुहाङको पूजा गर्ने गर्छन् । मान्छेलाई खेती गर्ने ठाउँ दिने प्रकृति र खेती गर्न सिकाउने पूर्वजको सम्मानस्वरुप यो पर्वमा भूमिपूजा गरिन्छ ।

उभौली पर्वको अवसरमा अवसरमा परम्परागत वेषभूषामा सजिएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नाच्ने गरिन्छ । तर यो वर्ष पनि उभौली चाड सार्वजनिक स्थलमा पूजाआजा र नाच प्रदर्शन नगर्ने भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९)ले गर्दा किरात समुदायका राई, लिम्बू, याक्खा, सुनुवारलगायत जातिले घर–घरमा पूजामात्र गरेर मनाउँदै छन् । गर्त वर्ष पनि किरातीहरुले पूजामात्र गरेर मात्रै उभौली मनाएका थिए ,

किरात राई यायोक्खाका अध्यक्ष दिवस राईले भन्नुभयो, ‘कोरोना कारण लकडाउन गरिएकाले सार्वजनिक ठाउँ नाचगान नगर्ने निर्णय गरेएका छौँ, घर-घरमा पूजा गर्ने, अनि सकेला पूजाथानहरुमा चहिँ पुजारी नछुङहरुले मात्रै पुजा गर्नेछन् ।’ किरात समुदायले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमादेखि १५ दिनसम्म उभौली मनाउने गरेका छन् ।

यसअघि यो पर्वको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाई, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला नचिने गरिन्थ्यो । साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाकामा हात र खुट्टाले भाका टिप्दै साकेला सिली नाच्ने गरिँथ्यो ।

साकेला पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मंसिर पूर्णिमामा दुई पटक मनाइन्छ । साकेला पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, लगायत जिल्लाका किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामका साथ मनाउने गरिएको छ ।

प्रतिक्रिया