आज कोजाग्रत पूर्णिमा, दशैँ समापन गरिँदै

मनिषा थापा

पिएनपिखबर : दशैं सकिने पूर्णिमाको रातलाई कोजाग्रत भनिन्छ। आश्विन शुक्ल प्रतिपदा (घटस्थापना)का दिनदेखि शुरु भएको दुर्गा पक्ष अर्थात् दसैं पर्व कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेपछि समापन हुन्छ ।


यो दिनमा सम्पन्नताकी देवी महालक्ष्मीले रातमा पृथ्वीको भ्रमण गरी ‘को जागेको छ ?’ भनी हेर्ने र जो जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गरिरहेको छ, उसैलाई आशीर्वाद दिई धनधान्यले सम्पन्न गरिदिने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासका कारण यस रात गृहिणीहरू जाग्राम बसी महालक्ष्मीको पूजा-आराधना गर्दछन् ।

कोजाग्रत पूर्णिमालाई शरद पूर्णिमा पनि भन्ने गरिन्छ । दशैंको अन्तिम दिन भोलि दसैँघरका सम्पूर्ण फूलप्रसाद जमराको अवशेष जलघाटमा बिसर्जन गर्ने गरिन्छ । दसैं र नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमात्र समाप्त हुन्छ ।

वर्षको एक पटक यो दिन चन्द्रमाको सोह्र कलाले परिपूर्ण हुने बताइन्छ। विजयादशमीका दिन सुरु भएको टीका जमरा लगाउने क्रम पनि आइतबार सम्पन्न हुँदैछ।

प्रतिक्रिया