आज थप नौ हजार एक सय ९६ जनामा संक्रमण पुष्टि, ५० जनाको ज्यान गयो

admin

काठमाडौं, २४ बैशाख : शुक्रबार देशभर नौ हजार एक सय ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २० हजार चार सय ८२ नमुना परीक्षण गर्दा नौ हजार एक सय ९६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो संख्या नेपालमा देखिएको दैनिक संक्रमणमध्ये सबैभन्दा धेरै हो । (हिजो) बिहीबार नौ हजार ७० जनामा संक्रमण पुष्टि भएको थियो ।

यस्तै बितेको २४ घण्टामा काठमाडौं जिल्लामा मात्र ३ हजार बढी संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ३०८९, ललितपुरमा ६४३ र भक्तपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको हो । प्रदेश १ मा झापामा २१६ तथा मोरङमा २७३ जना संक्रमित थपिएका छन् । प्रदेश २ मा पर्सामा १३० तथा धनुषामा १०६ जना संक्रमित भेटिएका छन् ।

गण्डकीमा कास्कीमा ३९३, लुम्बिनीमा दाङमा ३६६ तथा रुपन्देहीमा ७३० जना संक्रमित भेटिएका छन् । सुदूरपश्चिममा कैलालीमा सर्वाधिक १२५ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या तीन लाख ७७ हजार ६ सय तीन पुगेको छ ।

हाल २२ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने २१ जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । दिनहुँ ठूलो संख्यामा संक्रमित थपिएसँगै नेपालमा अहिले ७८ हजार ६ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये ७२ हजार ६७९ होम आइसोलेसनमा, ५ हजार ८६० जना संस्थागत आइसोलेसनमा, ७२८ जना आईसीयूमा तथा २३१ जना भेन्टिलेटरमा रहेका छन् ।

यस्तै थप ५० कोरोना संक्रमितको ज्यान गएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या तीन हजार पाँच सय ७९ पुगेको छ । बितेको २४ घण्टामा दुई हजार नौ सय पाँच जना संक्रमित निको भएका छन् । नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ९५ हजार तीन सय ९५ पुगेको छ ।

प्रतिक्रिया