आज थप १५६ जनामा सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या १ हजार नाघ्यो

admin

काठमाडौं, १५ जेठ : नेपालमा बिहीबार एकैदिन थप १ सय ५६ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा सङ्क्रमतिको संख्या एक हजार ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सप्तरीका दुई जना पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा १६ देखि ४२ वर्षका २५ जना पुरुषमा सङ्क्रमण देखिएको छ । सङ्क्रमित सबै झापाका रहेको मन्त्रालयले जनाएको छ । भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपुरका एक जना पुरुषमा कोरोना भेटिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ७७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयका डा. देवकोटाले जानकारी दिए । सङ्क्रमण पुष्टि हुनेमा धनुषाकी चार वर्षीया बालिका र आठ वर्षीय बालकसहित २९ जना रहेका छन् । महोत्तरीका १७ जना रहेका छन् ।

यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रौतहटका तीन जनामा पनि सङ्क्रमण भेटिएको छ । सप्तरीका १२ जना, सर्लाहीका सात जना, सिरहाका ६ जना, दोलखाका दुई जना र सोलुखुम्बुका एक जनामा पनि कोरोना पुष्टि भएको छ । प्रादेशिक प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा २३ जनामा सङ्क्रमण भेटिएको छ ।

सुर्खेतका १३ जना, दैलेखका आठ र बझाङका एक जनामा सङ्क्रमण पुष्टि भएको हो । एक जना बोल्न नसक्ने महिलामा सङ्क्रमण भएको जानकारी आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रादेशिक प्रयोगशाला गण्डकीमा गरिएको परीक्षणमा स्याङ्जाका तीन जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । सेती अस्पतालको प्रयोगशालामा दार्चुलाका एक र कैलालीका दुई गरी तीन जनामा सङ्क्रमण भेटिएको छ ।

किटजन्य प्रयोगशाला हेटौँडामा गरिएको परीक्षणमा मकवानपुरका एक जनामा सङ्क्रमण पाइएको छ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाका तीन र बाँकेका एक जनामा सङ्क्रमण भेटिएको छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा रौतहटका १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी नेपालमा ५१ जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् । बुधबार नारायणी अस्पतालबाट २७ देखि ३२ वर्षका पर्साका चार जना डिस्चार्ज भएका थिए । योसँगै निको हुनेको संख्या एक सय ८७ पुगेको छ । नेपालमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या पाँच पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया