आज निर्जला एकादशी पर्व, घरघरमा तुलसीको दल राखी मनाइँदै

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २० जेठ: वैदिक सनातन धर्मावलम्बीले घरघरमा औषधीय गुणले युक्त बिरुवा तुलसीको दल राखी आज निर्जला एकादशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल राख्ने गरिन्छ ।

आज दल राखिएको तुलसी एक महीनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन मोठमा रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महीना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको पूजा आराधना गरिन्छ । यो चार महीने अवधिलाई चतुर्मासा समेत भनिन्छ ।

आयुर्वेदमा उल्लेख भए अनुसार तुलसी रोपिएको स्थानलाई पवित्र मानिन्छ । तुलसी भएको स्थानमा मलेरिया फैलाउन सक्ने विषाक्त वायु समेत हटाउने क्षमता हुने तथ्य वैज्ञानिक रुपमा प्रमाणित भएको छ । तुलसीमा सबै प्रकारका प्रदूषणलाई हटाएर स्वच्छता कायम गर्न सक्ने क्षमता हुन्छ ।

सनातन हिन्दू धर्मावलम्बीले जीवनको अन्तिम क्षणमा पुगेकालाई तुलसी मिश्रित जल पिलाउने गर्छन् । यसो गर्दा आत्मा पवित्र हुने र लोकान्तर प्राप्तिमा सहयोग पुग्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । यस्तै महत्व भएको प्रमाणित भएपछि नै ऋषिमुनिले तुलसीलाई घरमा रोपी पूजा आराधना गर्ने रीत बसालेको जानकारी पनि उहाँले दिनुभयो ।

तुलसीको पूजा आराधाना हुने घरलाई तीर्थको रुप मानिन्छ । यस्तो घरमा यमदूत समेत प्रवेश गर्दैनन् भन्ने विश्वास समेत छ । तुलसी पत्रले हरि एवं हरको पूजा गर्नेले फेरि गर्भमा आउनु पर्दैन भन्ने मान्यता छ । तुलसीको पूजा आराधना गर्नेले मोक्ष प्राप्ति गर्छन् भनी विभिन्न पुराणमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया