आज नेकपा सचिवालय बैठक बस्दै

admin

काठमाडौं, १७ मंसिर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बुधबार पनि बस्दै छ । बैठकमा सहभागी हुन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । मंगलबारको सचिवालय बैठकमा नै बैठक बसिरहनुको औचित्य नरहेको भन्दै उनले बुधबारको बैठकमा सहभागी नहुने जानकारी गराएका थिए ।

बैठकमा मंगलबारदेखि अध्यक्षद्वयको प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको छ । मंसिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कात्तिक २८ गते कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि औपचारिक छलफल सुरु भएको हो ।

बैठकमा अध्यक्षद्वयले आ-आफ्नो धारणा राखेपछि औपचारिक छलफल सुरु भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । मंगलबारको सचिवालय बैठकमा चर्काचर्की भएपछि बैठकमा अनुपस्थित हुने संकेत गरेका प्रधानमन्त्री ओली आफू निकटका नेतासँगको परामर्शपछि बुधबारको बैठकमा सहभागी हुन तयार भएका हुन् ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले प्रधानमन्त्री बैठकका सहभागी हुने बताएका छन् । ‘प्रधानमन्त्री सहभागी नहुने भन्ने कुरा कसरी आयो मलाई थाहा भएन,’ उनले भने, ‘बैठकको समय निर्धारण गर्दा सरसल्लाह गरेर सबैको समय मिलाउनुपर्छ भन्ने मात्रै हो।’

प्रधानमन्त्री ओलीले सहभागी नहुने भनेर कुनै कुरा नगरेको नेम्बाङले जानकारी दिए । सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वनिर्धारित कार्यक्रमभन्दा एक घण्टा ढिलो बस्न लागेको हो ।

प्रधानमन्त्री ओली र महासचिव विष्णु पौडेलको समेत कार्यव्यस्तताका कारण बैठक सरेको बालुवाटार स्रोतले जानकारी दिएको छ । मंगलबार करिब ३ घण्टा चलेको बैठक बुधबार पुनः एक बजे बस्ने गरी सकिएको थियो ।

ओलीले बुधबारको बैठकमा उपस्थित नभए पनि दाहाल-नेपाल पक्ष भने बैठक अघि बढाउने तयारीमा जुटेको थियो । ओली-दाहालले एकअर्कालाई पार्टी विभाजन गर्न खोजेको भन्दै व्यक्तिगत रुपमा नै आरोप प्रत्यारोपमा उत्रिएपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको छ ।

मंगलबारको बैठकमा नै ओलीले सचिवालयको औचित्य नै नरहेको धारणा राखेको विषय नेताहरुले नै सार्वजनिक गरेका थिए । बैठकले पार्टी भित्र देखिएको गम्भीर समस्यालाई ध्यानमा राखेर औपचारिक र अनौपचारिक रुपमा छलफल अघि बढाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया