आज पनि एमालेद्वारा बैठक अवरोध : ‘अदालतमा विचाराधीन मुद्दा प्रतिकूल हुने गरी संसदमा छलफल गर्न मिल्दैन’

admin

काठमाडौं, ११ असोज : प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठक सुरु गराउन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई पुनः आग्रह गरेका छन् । (आज) सोमबार पनि प्रतिनिधि सभाको बैठकमा अवरोध गर्दै बेलमा नारा लगाउन पुगेका एमालेका सांसदहरूलाई सभामुख सापकोटाले आफूविरुद्ध लगाइएको मुद्दा अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै ती मुद्दामा प्रतिकूल हुने गरी सङ्घीय संसदमा छलफल गर्न नमिल्ने कुरा पनि स्मरण गराए ।

उनले अति आवश्यक विधेयकहरू पारित गरेर जानुपर्ने भएकाले पनि संसद् बैठकमा अवरोध गरिरहन नमिल्नेतर्फ पनि एमालेका सांसदहरूको ध्यानाकर्षण गराए । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दलले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले पदीय मर्यादा कायम गर्न नसकेको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सोही मुद्दा अदालतमा विचाराधीन रहेकाले न्याय निरूपणमा प्रतिकूल असर हुने गरी संसदमा ती विषयमा छलफल गर्न नमिल्ने सभामुख सापकोटाको तर्क थियो । सभामुख सापकोटाले बैठक सुरु गराउन गरेको आग्रहलाई एमालेका सांसदहरूले अस्वीकार गर्दै बेलमा नाराबाजी गरिरहे । यसैबीच सभामुख सापकोटाले राष्ट्रपति विद्या भण्डारीले प्रमाणीकरण गरेर संसदमा पठाएको विनियोजन विधेयक २०७८ पढेर सुनाए ।

त्यसैगरी बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बारे बैठकलाई जानकारी गराए । प्रतिनिधि सभाको अर्को बैठक असोज १४ गते बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया