आज पनि ठूलो हावाहुरी चल्ने

admin

काठमाडौं, ३ बैशाख : गएराति देशका धेरै ठाउँमा हुरी बताससहित चट्याङ्ग परेको छ । वाग्मती, गण्डकी र सुदूरपश्चिमसहित प्रदेश-१ र २ मा ठूलो हावाहुरी चलेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार चट्याङ्गसहित यी क्षेत्रमा ठूलो हुरी बतास चलेको हो । अहिले प्रि-मनसुन सक्रिय भएकाले हुरी चलेको मौसमविद् मानन्धरले बताउनुभयो ।

नेपालमा गएको मार्च महिनादेखि नै प्रि-मनसुन भित्रिएको भए पनि सक्रिय हुन सकेको थिएन । यसले गर्दा मौसम धुम्म हुने गरेको थियो । अबको केही दिन भने प्रि-मनसुन सक्रिय देखिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । तर, प्रि-मनसुन सक्रिय भए पनि पानी पर्ने गरी प्रणाली नबनेकाले ठूलो हुरी चले पनि वर्षाको सम्भावना भने खासै छैन ।

यस्तै, आज र भोलि पनि बेलुकापछि ठूलो हुरीबतास चल्ने अनुमान गरिएको छ । मौसमविद् मानन्धरका अनुसार अबका केही दिन ठूलो हुरीबतास चल्ने सम्भावना छ । तर, पानी भने हल्का मात्रै पर्नेछ । प्रि-मनसुनमा दिउँसोपछि मौसम बद्ली भएर हावाहुरी चल्ने, चट्याङ्ग पर्ने र पानी पर्ने हुन्छ ।

गएरातिको ठूलो हुरीले वायुमण्डलमा थुप्रिएका धुलोका कणलाई केही उडाए पनि पानी पर्ने सम्भावना नरहेकाले प्रदूषण फेरि बढ्ने सम्भावना छ । तुवाँलो, धुवाँधुलो र डढेलोका कारण वायु प्रदूषण बढेकाले पानी नपरेसम्म पूर्णरुपमा वायुमण्डल सफा नहुने मौसमविद्को भनाइ छ । चट्याङ्ग र ठूलाे हावाहुरीकाे सम्भावना रहेकाले सुरक्षित रहन माैसमविद्ले आग्रह गरेका छन् ।

प्रतिक्रिया