आज प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औँ जन्मदिन

admin

काठमाडौं, फागुन ११ : प्रधानमन्त्री केपी शर्मा ओलीको ६९औँ जन्मदिनको अवसरमा आइतबार बालुवाटारमा विशेष कार्यक्रम गरिएको छ ।

आइतबार बिहान प्रधानमन्त्रीको सचिवालय र केही नेताहरुको आयोजनामा विशेष कार्यक्रम गरिएको हो । कार्यक्रममा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्री ओलीलाई रातो गुलाबको माला लगाइ शुभकामना दिएका थिए ।

सचिवालयका सदस्यहरुले जन्मदिनको केक काट्दै उक्त अवसरमा प्रधानमन्त्रीको जीवनी झल्काउने भिडियो पनि प्रदर्शन गरिएको थियो। बालुवाटारको कार्यक्रम सकेपछि प्रधानमन्त्री ओली आफ्नो जन्मथलो तेह्रथुमको आठराई गएका छन् ।

प्रधानमन्त्री ओलीको जन्मदिन मनाउन तेह्रथुमको आठराई गाउँपालिकामा आइतबार स्थानीय सार्वजनिक विदा दिइएको छ । गाउँपालिका कार्यालयले प्रधानमन्त्री ओली विभिन्न विकास निर्माणका कामको शिलान्यास गर्न गाउँपालिका जाने भएकाले स्थानीय विदा दिने निर्णय गरिएको जनाएको छ ।

यसै अवसरमा उनले छातेढुङ्गाको सुकेपोखरी, आफ्नो जन्मघर हुँदै ताप्लेजुङ्गको ढुङ्गेसाँघुमा रहेको मदन भण्डारीको जन्मघरसम्म जोड्ने मोटरबाटोको शिलान्यास गर्ने कार्यक्रम छ । जन्मघरमा हुने कार्यक्रममा उनले नेपाल बैंकको शाखा कार्यालय उद्घाटन गर्नेछन् ।

प्रधानमन्त्रीको स्वागतका लागि गाउँपालिकाले शिक्षकहरुलाई तोकिएको पोसाकमा उपस्थित हुन निर्देशन पनि दिएको छ । प्रधानमन्त्री ओलीको जन्मदिनको अवसरमा दुई हजार विद्यार्थीलाई प्रमको तस्बिर र हस्ताक्षरसहितको डायरी र कलम तथा दुई सय वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

आठराईमा त्रिभुवन विश्वविद्यालयको एक आङ्गिकसहित दुई वटा क्याम्पस र नौ वटा माविसहित ५८ वटा विद्यालय छन् । प्रधानमन्त्री ओलीले त्यसअघि पाँचथरको कुम्यायक गाउँपालिकामा तमोर नदीबाट लिफ्टिङ प्रविधिबाट पुर्‍याइएको खानेपानी आयोजनाको उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया