आज मदन-आश्रित दिवस (फोटोफिचर)

admin

काठमाडौं, ३ जेठ : जननेता मदन भण्डारी र जीवराज आश्रितको २८औैं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो । सोही दिनको स्मरणमा नेकपा एमालेले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ ।

दिवसका अवसरमा एमाले अध्यक्ष केपी ओली लगाएतका नेताहरु बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा भेला भएर मदन भण्डारीको शालिकमा माल्यार्पण गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओली, बामदेव गौतम, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेताहरु सुवास नेम्वाङ, कृष्णगोपाल श्रेष्ठ लगायत सहभागी थिए । एमालेले बल्खुस्थित पार्टी कार्यालय रहेको क्षेत्रलाई मदन भण्डारीको नामबाट ‘मदन नगर’ नामाकरण गरेको छ ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ । एमाले र अन्य कम्युनिष्ट पार्टीबाट पटक पटक प्रधानमत्री हुँदा समेत दासढुंगामा भएको मदन भण्डारीको रहस्यमय जिप दुर्घटनाको अलिहेसम्म छानविन हुन सकेको छैन । जिप त्रिशूली नदीमा खसेर दुर्घटना हुँदा भण्डारी र आश्रितको मृत्यु भएको थियो भने चालक अमर लामा बाँच्न सफल भएका थिए । लामाको २०६० सालमा हत्या भएपछि यो घटना झनै रहस्यमय बनेको छ ।

उक्त घटनालाई एमालेले ‘रहस्यमय’ भन्दै सत्यतथ्य पत्ता लगाउन माग गरेपछि जाँचबुझ आयोग नै गठन भएको थियो । मदन भण्डारी र जीवराज आश्रितको मृत्युलाई एमालेले अझै पनि शंकास्पद मानेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले (आज) सोमबार विज्ञप्ति जारी गर्दै श्रद्धाञ्जली दिँदा समेत दुर्घटनालाई रहस्यमय उल्लेख गरेका छन् । यस्तै एमाले नेतृत्वको सरकार पटक पटक बनिसकेको छ । मदन भण्डारीसँग नजिक रहेर काम गरेका केपी शर्मा ओली देशका प्रधानमन्त्री छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल पनि प्रधानमन्त्री बनिसकेका छन् । एमालेबाट झलनाथ खनाल पनि ९ महिना प्रधानमन्त्री भएका थिए । मनमोहन अधिकारीको ९ महिने एमाले सरकार पनि बनेको थियो । तर, रहस्य पत्ता लगाउन एमाले नेतृत्वको सरकार सफल हुन सकेको छैन । सोमबार माधव नेपालले त घटनासँग सम्बन्धित अमर लामाको ह’त्याबारे समेत उल्लेख गरेका छन् ।

उनले घुमाउरो तरिकाले लामाको ह’त्या हुनुले घटनालाई अझ रहस्यमय बनाएको तर्क गरेका छन् । नेताहरु सत्ता बाहिर रहँदा दासढुङ्गा दुर्घटनाबारे कडा स्वरले वर्षमा एकपटक बोल्ने तर सत्तामा पुगेपछि यथार्थ पत्ता लगाउन गम्भीर नहुने शैली अझै देखिएको छ । भण्डारी र आश्रितको मृत्युको रहस्य पत्ता लगाउन एमाले नेतृत्वको सरकार नै गम्भीर नदेखिएको विषय उठ्ने गरेको छ ।

प्रतिक्रिया