आज विजया दशमी: यस्तो छ अक्षता र जमराको महत्त्व

admin

काठमाडौं, असोज २१ : आज विजय दशमी । विशेषगरी विजयादशमीमा रातो अक्षताको टीका लगाउने परम्परा छ। नेपालमा रातो अक्षताको टीका काठमाठौं उपत्यका र शहर आसपासबाट शुरु भएकोविश्वास छ।

नेपालका दुरदराज गाउँहरूमा रंगको चलन तीनै शहर बजार आवतजावत गर्नेहरूले चलाए पछि गाउँघरमा पनि रातो टीका लगाउन थालिएको हो। केही जातजातीमा सेता अक्षताको टीका लगाउने चलन अझै पनि छ। अक्षता अर्थात् क्षत नभएको नटुक्रिएको चामल। अक्षता वा चामललाई संस्कृत भाषामा ‘तण्डुल’ भनिन्छ।

धानबाट बन्ने खाद्यान्न। मानिसको प्राण धान्नका लागि चामलको प्रयोग गरिन्छ। खाद्यवस्तुको रूपमा मात्र नभई देवकार्य, पितृकार्य एवं यज्ञादिमा धान/चामलकै प्रयोग गरिन्छ। यसैले सम्पूर्ण जगतकै प्राण रक्षा गर्ने भएकोले धानलाई प्राणेश्वरी अथवा ब्रह्म पनि भनिन्छ। संस्कृतमा ‘धान्य’ भनिने धानको बोटलाई लक्ष्मीको प्रतीक मानिन्छ। नवरात्रको प्रचलित पूजाविधिमा एउटा श्लोक आउँछ, ‘जगतः ‘प्राणरक्षार्थं ब्रह्मणा निर्मितं पुरा/उमाप्रीतिकरं धान्यं तस्माद्रक्षतु सर्वदा।’ अर्थात् विश्वको प्राण रक्षाका लागि ब्रह्माजीले धानको रचना गरेका हुन्, देवीको पनि प्रिय वस्तुको रूपमा रहेको यसले सबैको रक्षा गरोस्।

यति महत्त्वको वस्तु भएकाले देवीलाई चढाउने र त्यसैबाट प्रसाद बनाउने गरिएको हो। रातोको अर्थ विजय वा उत्सव हो। निधारमा रातो अक्षताको टिकाले खुशी वा उल्लासको अवस्था जनाउँछ। वैदिक ग्रन्थहरूमा जौलाई रोग दूर गर्ने, प्राण पुष्ट पार्ने, बल प्रदान गर्ने र यज्ञयज्ञादिमा उपयोगी ओज वस्तुको रूपमा लिइएको छ। सनातन संस्कारअनुसारका देवकार्यमा जौको प्रयोग प्रशस्त गरिन्छ। पौराणिक ग्रन्थहरूमा पनि यवोसि धान्यश… अर्थात् जौँलाई अन्नको राजा मानिएको छ। श्रीमद्भागवत महापुराणमा वामन अवताररूपी नारायणको पूजा गर्दा लोकपालहरूले जमरा चढाएको प्रसंग आउँछ।

आयुर्वेद विधामा सानादेखि असाध्यसम्मका रोग निको बनाउन जमराको रस प्रयोग हुन्छ। औषधीय रूपमा महत्त्वपूर्ण जमरामा रहेका अनेक गुणले गर्दा प्रसादस्वरूप कान वा शिरमा सिउरिने परम्परा चलेको हो। नौ दिनसम्म सूर्यको किरण पर्न नपाएको पहेँलो जमरा लगाउने सनातन धर्मावलम्बी नेपालीहरूको पहिचान नै हो।

प्रतिक्रिया