आज विश्व पर्यटन दिवस

admin

काठमाडौं, ११ असोज : (आज) आइतबार विश्व पर्यटन दिवस । हरेक वर्ष सेप्टेम्बर २७ मा विश्वभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा ‘पर्यटन र ग्रामिण विकास’को नारासहित पर्यटन दिवस मनाइँदै छ ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र सङ्घीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सन् १९८० देखि हरेक वर्ष विश्व पर्यटन दिवस मनाउन थालिएको हो । ‘पर्यटनका लागि हाम्रो देश, घुमौँ देश, चिनौँ परिवेश’ भन्ने मूल नाराका साथ सरकारले पर्यटन पुनरुत्थान अभियान समेत सुरु गरेको छ ।

पर्यटन दिवसका अवसरमा शुभकामना दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुने भन्दै निकट भविष्यमा महामारी नियन्त्रणमा आउने र नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

उनले पर्यटनका तत्कालिन र दीर्घकालिन लक्ष्यहरु हासिल हुने भन्दै पर्यटनसँगै आर्थिक, सामाजिक क्रियाकलाप पनि सहज हुने बताएका छन् । सरकारले पर्यटन क्षेत्रमा सङ्घ, प्रदेश र पालिकाबीच सहकार्य, समन्वय एवं साझेदारी मार्फत पूर्वाधार तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धन गर्न साझेदारी कार्यक्रम कार्यविधि २०७७ कार्यान्वयनमा ल्याएको छ ।

यसपटक भने विश्वव्यापी कोरोना महामारीबाट नेपालसहित विश्वकै पर्यटन क्षेत्र प्रभावित भएको छ । पर्यटन देशको अर्थतन्त्रको प्रमुख र दिगो आधार मानिन्छ । नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ६ दशमलव ७ प्रतिशत रहेको छ । झण्डै ११ लाख रोजगारी सिर्जना गरेको सरकारको दाबी छ । तर कोरोना महामारीका कारण पर्यटन क्षेत्र नराम्ररी थला परेको छ ।

प्रतिक्रिया