आज विश्व रेबिज विरुद्धको दिवस, नेपालमा पनि मनाइँदै

admin

काठमाडौं, १२ असोज : (आज) सोमबार विश्व रेबिज विरुद्धको दिवस ‘रेबिज अन्त्यको लागि सहकार्य र खोप’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै छ । रेबिज उन्मूलन गर्न खोप र जनचेतना नै महत्वपूर्ण रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

रेबिज विरुद्धको खोप विकास गरेका फ्रान्सेली रसायनशास्त्री तथा माइक्रोबायोलोजिस्ट लुइस पास्टरको निधन भएको दिनको सम्झनामा हरेक वर्ष सेप्टेम्बर २८ मा यो दिवस मनाउने गरिन्छ ।

रेबिजका कारण विश्वमा वर्षेनी झण्डै ६० हजार मानिसको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले जनाएको छ । रेबिज रोगबाट बच्ने उपायबारे सचेतना फैलाउने उद्देश्यले दिवस मनाउने गरिन्छ ।

रेबिज संक्रमित जनावरले टोक्दा र्‍यालबाट मानिसको शरीरभित्र भाइरस प्रवेश गर्ने गर्छ । ज्वरो आउने, घाउ भएको ठाउँमा दुख्ने, झम्झमाउने, घोचे, पोले जस्तो हुने, भाइरस मस्तिष्कसम्म पुगेपछि मस्तिष्क तथा स्नायुहरु सुनिने, पानी देखि डराउने लगायतका लक्षण देखिन्छ ।

रेबिज विरुद्धको खोप निःशुल्क पाइन्छ । रेबिजका कारण ज्यान गुमाउनेमा आधाभन्दा बढी बालबालिका छन् । विश्वमा हुने रेबिजको समस्यामध्ये ९५ प्रतिशत एसिया र अफ्रिकामा हुने गरेको छ ।

घरपालुवा कुकुरलाई रेबिज विरुद्धको खोप लगाउन, कुकुर लगायतका जनावरले टोकेमा साबुनपानीले धुन र स्वास्थ्य संस्थामा सम्पर्क गरी रेबिजविरुद्धको खोप लगाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया