आज वि.सं. २०७६ भदौ २५ गते बुधबारको राशिफल हेर्नुहोस

राष्ट्रिय समाचार समिति

वि.सं. २०७६ भदौ २५। बुधबार। इ.स. २०१९ सेप्टेम्बर ११। शकसंवत् १९४१। परिधावी संवत्सर। दक्षिणायन। वर्षा ऋतु। ने.सं. ११३९ ञलाथ्व। भाद्र शुक्लपक्ष। त्रयोदशी, २८:४४ उप्रान्त चतुर्दशी। नक्षत्र– श्रवण, १५:१७ बजेउप्रान्त धनिष्ठा। योग– अतिगण्ड, २०:४९ बजेउप्रान्त सुकर्मा। करण– कौलव, १५:५३ बजेदेखि तैतिल, २८:४४ बजेउप्रान्त गर। आनन्दादिमा छत्र योग। चन्द्रराशि– मकर, २८:२४ बजेउप्रान्त कुम्भ। काठमाडौंमा सूर्योदय– ५:४७ बजे, सूर्यास्त– १८:१२ बजे र दिनमान ३१ घडी २ पला। प्रदोष व्रत। न्हुघया। धनिष्ठा पञ्चक २८:२४ बजे प्रारम्भ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विशेष कर्म प्राप्तिको योग छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। आँटेको काम सिद्ध गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ।व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। महत्त्वाकांक्षाले भने काममा बाधा पुर्याउन सक्छ, सजग रहनुहोला। मिहिनेतले जीवनशैलीमा सुधार आउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियारीसाथ काममा जुट्नुपर्ला। सहयोगको नाममा धोका हुन सक्छ। आफ्ना कमजोरीको फाइदा उठाउनेहरूबाट सजग रहनुहोला। सामाजिक जिम्मेवारी पनि बढ्नेछ। शुभचिन्तकहरूले भने राम्रै सहयोग जुटाउनेछन्। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। समाजसेवा, धर्मकर्म र परोपकारी काममा पनि प्रवृत्त भइनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
स्वास्थ्य कमजोर रहनेछ भने केही प्रतिकूल परिस्थितिसँग जुध्नुपर्नेछ। अशक्त अवस्थामा व्यस्तता बढ्नेछ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। हुलमुलमा धनमाल हराउन सक्छ। प्राथमिकताका आधारमा काम अघि बढाउन नसकिएला। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
भाग्यले अवसर दिलाए पनि कर्म आत्मसात् गर्न नसकिएला। उच्च महत्त्वाकांक्षा र अवसरलाई अधिकार ठान्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। सुझबुझका साथ काम लिन नसक्दा पछि परिनेछ। आफन्त र शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत परिस्थितिले सहयोगी बन्नेछन्। प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा बुद्धिको उपयोग गर्नुहोला। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ। मिहिनेतले ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुन सक्छ। आफन्त र परिवारजनलाई समय दिनुपर्ने हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरू पछि पर्नेछन्।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामले मान–सम्मान समेत दिलाउनेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। शुभचिन्तक तथा प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। विशेष सभा–समारोहमा भाग लिने अवसर प्राप्त हुनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
घरमा अतिथिको आगमन हुन सक्छ। चिताएको काम बन्नाले समस्या समाधान हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। मनग्गे धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। छर-छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। ऋण तथा कर्जा पनि चुक्ता गर्न सकिनेछ।

प्रतिक्रिया