आज सबै प्रदेशमा कोरोनाविरुद्धको खोप पुर्‍याउने

admin

काठमाडौं, ११ माघ : आइतबार सबै प्रदेशका भण्डारणमा कोरोनाविरुद्धको खोप पुर्‍याउने तयारी भएको छ । त्यहाँबाट जिल्ला जिल्लाका खोप केन्द्रमा खोप पुर्‍याइने छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोपशाखा प्रमुख डाक्टर झलक शर्मा गौतमले कोरोना खोपको सबै तयारी पूरा भइसकेको जानकारी दिएका छन् ।

खोप लगाउन जनशक्ति तयार पार्ने काम भइरहेको उनले बताए । पहिलो चरणमा अग्रपङ्क्तिका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने जनशक्ति, स्वास्थ्य स्वयंसेविकालाई खोप दिइने छ । तर, अहिलेसम्म पनि खोप लगाउन सुरु गर्ने मिति भने तोकिएको छैन ।

कोरोनाविरुद्धको खोप १८ वर्षमाथिका उमेर समूहलाई मात्र दिइने छ । नयाँ भएकाले खोप लगाइसकेपछि आधा घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राखिने छ । डा. गौतमकाअनुसार गर्भवती, सुत्केरी र कुनै पनि एलर्जी भएका व्यक्तिले खोप लगाउनु हुँदैन ।

गएको बिहीबार भारतले नेपाललाई खोपको १० लाख डोज हस्तान्तरण गरेको थियो । बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि कम्पनी एस्ट्राजेनेकाले विकास गरी भारतको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ‘कोभिसिल्ड’ नामको १० लाख खोप भारतले हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया