आज स्वर सम्राट नारायण गोपालको स्मृति दिवस

admin

काठमाडौं, मंसिर १९ : आज स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस मनाइँदैछ । १९९६ सालमा असोज १८ गते काठमाण्डाैको किलागलमा जन्मिनुभएका नारायण गोपालको २०४७ साल मंसिर १९ गते दिन निधन भएको थियो ।

आफ्नो गायकीबाट सबैलाई आकर्षण गर्नुभएका उहाँले स्वर सम्राटको उपाधि पनि पाउनुभएको छ । २०१८ सालमा रेडियो नेपालबाट स्वर परीक्षामा उत्तीर्ण गरेपछि नारायण गोपालले त्यसपछि गायन यात्रालाई निरन्तरता दिनुभयो ।

उहाँले आफ्नो गायन यात्रामा नेपाली भाषाका मात्रै एक सय ३५ भन्दा धेरै गीत गाउनुभएको रेकर्ड छ । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिनुभएको छ । यस्तै, उहाँले नेपाल भाषाका पनि गीत गाउनु भएको छ ।

२०१३ सालमा दुर्गालाला श्रेष्ठको नाटकबाट दृष्टिविहीन व्यक्तिको भूमिकामा अभिनय गर्दै रंगमञ्चमा प्रवेश गरेका उहाँले २०१८ साल पछि गायनमा सक्रिय हुनु भएको थियो । नारायण गोपाल २०२३ सालमा रेडियो नेपालबाट सर्वोत्तम संगीतकारका रुपमा पुुरुस्कृत हुनु भएको थियो भने २०२४ सालमा सर्वोत्कृष्ट गायकको पुरस्कार पाउनु भएको थियो ।

यस्तै, २०३३ सालमा गोरखा दक्षिण बाहु, २०४० सालमा इन्द्रराज्य लक्ष्मी पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार र २०४५ सालमा जगदम्बा श्री पुरस्कारबाट सम्मानित हुनु भएको थियो । जगदम्बा पुरस्कारबाट सम्मानित हुने उहाँ नै पहिलो गायक भएका गीत सङ्गीत क्षेत्रका ज्ञाता प्रकाश सायमीले बताउनुभयो ।

नारायण गोपालले गाएका धेरै गीतमा पीडा, विरह र वियोग मिसिएको पाइन्छ । उहाँले गाएका गल्ती हजार हुन्छन्, यहाँ होस हराएको बेला, मलाई नसोध कहाँ दुख्छ घाउ, स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, बिछोडको पीडा, ए कान्छा ठट्टैमा यो वै‌ंश जानलाग्यो लगायतका गीत लोकप्रिय र अजरअमर छन् ।

प्रतिक्रिया