आज हरितालिका तीज: महादेवको पूजा-अर्चना गरी मनाउँदै

admin

काठमाडौं , भदौ १६ : हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज वैदिक सनातन हिन्दू धर्मावलम्बी नारीहरू देवाधिदेव महादेवको पूज-अर्चना गरी मनाउँदैछन् । आज बिहानैदेखि पशुपति लगायत देशैभरिका शिव मन्दिरहरुमा व्रतालु महिलाहरुकाे भीड लागेकाे छ । धुपबत्ती तथा पूजाआजा, नाचगान गरी निराहार व्रत बसी धुमधामले मनाउँदैछन् ।


सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको किंवदन्ती अनुसार हिन्दु नारीहरुले समेत व्रत वसेर महादेवको पूजा आरधना गरेर मनाउँदैछन् । आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेवलाई स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने र इच्छाएकाे पति मिल्ने विश्वासमा नारीहरू व्रत बस्ने गर्दछन् । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो । पछिल्लाे समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ ।

तीजका नाममा पछिल्ला समयमा बढिरहेको विकृतिलाई अन्त्य नगर्ने हो भने भावी पुस्ताले तीज पर्वको वास्तविक महत्व र गरिमाका सम्बन्धमा जानकारीसमेत नपाउन सक्ने अवस्था सिर्जना हुने आशङ्का हुन थालेको छ । तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । तीजका नाममा एक महिनादेखि तडकभडक देखाउने, अनावश्यक खर्च गर्ने प्रवृत्तिले यो विकृतिमय बन्दै गएको छ, मौलिक गीत हराउँदै उत्ताउला गीत गाउन थालिएको छ ।

प्रचलित जनविश्वासअनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो । तीजको ब्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रिया