आत्महत्या बढ्दै गएपछि रोकथाम अभियान शुरु

मनिषा थापा

धादिङ, २४ भदौ (रासस) : जिल्लामा वर्षेनी आत्महत्याका घटना बढ्दै गएकाले विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा मङ्गलबारदेखि रोकथाम अभियान शुरु गरिएको छ ।



जिल्ला प्रहरी कार्यालय र सहयात्री समाजले आज नीलकण्ठ क्याम्पसबाट सोे अभियान प्रारम्भ गरेको हो । प्रमुख जिल्ला अधिकारी आसमान तामाङले मान्छेले जीवनदेखि निरास भएर आत्महत्या गर्ने भएकाले भावी जीवनलाई सुखी बनाउने खालाका गतिविधि गर्नुपर्नेमा जोड दिनुभयोे ।

जिल्लामा विगत चार वर्षको तथ्याङ्कमा आत्महत्या गर्नेको सङ्ख्या बढ्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७२/७३ मा ६३, २०७३/७४ मा ७५, २०७४/७५ मा ९२ र २०७५/७६ मा ९४ ले आत्महत्या गरेका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताउनुभयो ।

प्रहरीको तथ्याङ्कअनुसार सो अवधिमा आत्महत्या गरेका ३२४ मध्ये पुरुष १८५ र महिला १३९ थिए । तीमध्ये विवाहपछि आत्महत्या गर्ने ३०६ र अविवाहित अवस्थामै आत्महत्या गर्ने १८ थिए । झुण्डिएर २१९, विष सेवन गरेर १०३ र अन्य कारणले दुई जनाले आत्महत्या गरेको उक्त कार्यालयले जानकारी दिएको थियो । आत्महत्या दुरुत्साहनमा जिल्लामा चार मुद्दा विचाराधीन अवस्थामा छ ।

प्रतिक्रिया