आफूसँग चुनाव प्रचारको लागि पैसा नभएपछि मिर्गौला बेच्दै एक उम्मेदवार

रिता घिसिंग

एजेन्सी : राजनीतिको नशा चढेपछि एक राजनीतिज्ञले आफ्नो मिर्गौला बेच्नसमेत तयार भएका छन् । भारतमा चलिरहेको आम चुनावका क्रममा हालै एउटा यस्तै घटना सार्वजनिक भएको छ ।

भारतको मध्य प्रदेशबाट चुनाव लडिरहेका एकजना उम्मेदवारले चुनाव प्रचारका लागि खर्च जुटाउन आफ्नै मिर्गौला बेच्न तयार भएका छन् । मध्य प्रदेशको बालाघाट लोकसभा सिटमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनाव लडिरहेका किशोर समरीतेले चुनाव खर्च उठाउनका लागि आफ्नो मिर्गौला बेच्ने अनुमति मागेका छन् ।

चुनाव खर्च जुटाउन आफ्नो मिर्गौला बेच्ने अनुमति दिन उनले निर्वाचन आयोगमा निवेदन दिएका छन् । मिर्गौला बेच्नका लागि उनले जिल्ला निर्वाचन अधिकृतलाई पत्र लेखेका छन् । पूर्वविधायक समेत रहेका उनले उम्मेदवारका लागि चुनाव खर्चको अधिकतम सीमा ७५ लाख भारु तोकिएकोमा प्रतिस्पर्धी उम्मेदवारसँग करोडौँ सम्पत्ति भएको र आफूसँग त्यति धेरै पैसा नभएकाले मिर्गौला बेच्ने निर्णय लिन बाध्य भएको जनाएका छन् ।

चुनाव हुने दिन आउन दुई हप्ता मात्र बाँकी रहेको र यति छोटो समयमा अरु माध्यमबाट पैसा जुटाउन असम्भव रहेकाले मिर्गौला बेच्नु आवश्यक भएको उनको भनाई छ ।

आफूलाई ७५ लाख रकम उपलब्ध गराउन वा बैंकबाट ऋण उपलब्ध गराउन अनुरोध गर्दै उनले यदि त्यो सम्भव नभए आफूलाई आफ्नो एउटा मिर्गौला बेच्ने अनुमति दिन निर्वाचन अधिकारी समक्ष अनुरोध गरेका हुन् ।

प्रतिक्रिया