आमाछोरीलाई लुट्ने लुटेरा पक्राउ

राष्ट्रिय समाचार समिति

रुकुमपूर्व, ७ साउन: आमाछोरीलाई लुटपाट गरी फरार भएका दुई जनालाई प्रहरीले एक महीनापछि काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटका २७ वर्षीय अमर पुन र उदयपुरको रौता–७ ख्याटुङका २० वर्षीय लक्ष्मण मगर रहेका छन् ।

दुवै जनालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको हो । उनीहरुलाई आज यहाँ पत्रकार सम्मेलन गरी सार्वजनिक गरियो । रुकुमपूर्वका प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काका अनुसार उनीहरुको साथबाट तीन थान मोबाइल, कानको सुनको जुली तथा स्काई, एनसेल र नेपाल टेलिकमका सिमकार्ड बरामद गरिएको छ ।

पुन र मगरले पुथा उत्तरगङ्गा गाउँपालिका–१ मैकोटकी जुनकुमारी पुन र उहाँकी छोरी रश्मीलाई गत जेठ ३२ गते कुटपिट गरी घाइते बनाउनुका साथै उनीहरुको साथमा रहेको रु एक लाख पाँच हजार, आधा तोला सुन, पाँच तोला चाँदी र मोबाइल लुटेका थिए । आमाछोरी यार्सागुम्बा सङ्कलन गरी घर फर्कँदै थिए । गम्भीर घाइते दुवैलाई गत असार १ गते नेपाली सेनाको हेलिकप्टरमा काठमाडौँ लगिएको थियो । पीडितको बयानका आधारमा लुटेरालाई पक्राउ गर्न सफल भएको खड्काले बताउनुभयो । उनीहरु विरुद्ध ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरिएको छ । रासस

प्रतिक्रिया