आयुष्मान भारत कार्यक्रमबाट ७० लाख नागरिक लाभान्वित : प्रधानमन्त्री मोदी

राष्ट्रिय समाचार समिति

लखनऊ, ९ पुस: आयुष्मान भारत, प्रधानमन्त्री जन आरोग्य योजना स्वास्थ्य विमा कार्यक्रमबाट ७० लाख भारतीय लाभान्वित भएको प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ । बुधबार अटल बिहारी मेडिकल यूनिभर्सिटीको भवन निर्माणका लागि आधारशिला स्थापना कार्यक्रममा बोल्दै प्रधानमन्त्री मोदीले आयुष्मान भारत योजना ‘विश्वकै सवैभन्दा ठूलो कार्यक्रम’ भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “कार्यक्रम शुरू भएको छोटो समयमा नै ७० लाख जनता प्रधानमन्त्री जन आरोग्य योजनाबाट लाभान्वित भएका छन् ।” कार्यक्रमबाट लाभ लिनेमध्ये एघार लाख नागरिक उत्तर प्रदेशबाट रहेका पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य क्षेत्रका लागि केन्द्रीय सरकारले पहिलो रोगनिरोधी कार्यक्रम, दास्रो व्यहोर्नसक्ने स्वास्थ्य सेवा र तेस्रो आपूर्तिका पक्षमा हस्तक्षेप रहनेगरी कार्यक्रम अघि सारेको उहाँको भनाइ थियो । यसको अर्थ स्वास्थ्य क्षेत्रका सम्पूर्ण मागलाई सुनिश्चित गर्ने रहनेछ । अन्तिममा सरकारले विशेष लक्षित खालको कार्यक्रममार्फत सेवा प्रदान गर्नेछ ।

कार्यक्रममा प्रधानमन्त्री मोदीले पूर्व प्रधानमन्त्री तथा भाजपाका श्रद्धेय स्वर्गीय नेता अटल विहारी बाजपेयीको जन्मदिवसका अबसरमा लोकभवनमा निर्माण गरिएको शालिकको अनावरण गर्नुभएको थियो ।

प्रतिक्रिया