आर्थिक अभावले दुई दिनदेखि शव अस्पतालमै

कृष्ण रोकाया

बलेवा, १८ फागुन : धौलागिरि अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बागलुङको निसिखोला गाउँपालिका–७ राजकुत मुदुङका ४५ वर्षीय लक्ष्मण विकको दुई दिनसम्म पनि शव उठाइएको छैन ।

 

धेरै टाढाबाट उपचारको क्रममा अञ्चल अस्पतालमा श्रीमतीसहित आउनुभएका विकको मृत्यु पछि आर्थिक अभावका कारण अन्तिम संस्कारका लागि लैजान समस्या भएको परिवारले जनाएको छ ।

छरछिमेकीसँग ऋण गरी उपचारका लागि १४ फागुनमा उक्त अस्पताल आउनुभएका विक परिवारसँग भएको पैसा पनि उपचारको क्रममा सकिएकाले अहिले शव उठाएर घाटसम्म लैजान समस्या भएको मृतकका दाजु बलबहादुर विकले बताउनुभयो ।

‘‘कसैले सहयोग गरे त भाइको शव आफ्नै घाटमा लैजाने मन थियो’’ मृतका दाजु बलहादुर विकले भन्नुभयो, “नजिकै कालीगण्डकीमा लैजाने तथा दाउरा, चिनी र कोरा कपडा किन्न समेत पैसा छैन ।” भाइको मृत्यु खबर पाएलगत्तै गाडीभाडासमेत ऋण खोजेर बागलुङ बजार आउनुभएका विकले सबैसँग सहयोगका लागि अपिल गर्नुभएको छ । “ भाइको मृत शरीरले समेत सुःख पाएन ” विकले थप्नुभयो, “घाटमा पु¥याउन र काजकिरिया सक्न पनि ठूलो सकस भयो ।”

परम्परा अनुसार १३ दिन काजकिरिया गर्ने संस्कार रहे पनि आर्थिक अभावका कारण तीन दिनमै छोट्याउने तयारी गरिएको दाजु बलबहादुरले बताउनुभयो ।

छिमेकीको शव उठाउन समस्या भएपछि स्थानीयवासीले सहयोग सङ्कलन गरी तत्कालको समस्या समाधान गर्ने तयारी गरेका छन् । स्थानीय पत्रकार सज्जनकुमार सिंहले भन्नुभयो, “पीडित परिवारसँग पैसा नभएकाले स्थानीय सङ्घसंस्था र व्यक्तिसँग सहयोगका लागि अपिल गरेर शवलाई कालीगण्डकीसम्म लैजाने कोसिस भइरहेको छ । रासस

प्रतिक्रिया