आर्मीले जित्यो प्रधानमन्त्री कपको उपाधि

admin

काठमाडौं : त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिता उपाधि जितेको छ । शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ३३ रनले हराउँदै आर्मीले पहिलो उपाधि जितेको हो ।

विजेता आर्मीले १० लाख र उपविजेताले एपिएफले ५ लाख रुपैयाँ पाउने छन् । अन्तिम चार रन जोड्न ४ विकेट गुमाएपछि एपिएफ पराजित हुन पुगेको हो ।

जितका लागि २ सय १२ रनको विजयी लक्ष्य पछ्याएको एपिएफ ४१.३ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । एपिएफका ओपनर आशिफ शेखले ७१ बलमा ८ चौका र १ छक्का सहित सर्वाधिक ६१ रनको योगदान दिएपनि टोलीलाई जिताउन सकेनन् । आशिफको जारी प्रतियोगितामा तेस्रो अर्धशतक हो ।

चौथो ओभरको पहिलो बलमा जितेन्द्र मुखियाले ओपनर सुबास खकुरेललाई १४ रनमा विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । सुबासले १५ बलमा ३ चौका प्रहार गरे । लगत्तै अर्को बलमा कप्तान शरद भेषावकर कटविहाइन्ड हुँदै गोल्डेन डग आउट हुन पुगे ।


तेस्रो विकेटका लागि आशिफ र शंकर रानाले ७१ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीको संकटलाई पार लगाएका थिए । स्पिनर साहब आलमले २० औं ओभरको चौथो बलमा शंकरलाई विनोदबाट २१ रनमा क्याच गराउँदै साझेदारी तोडेका थिए । शंकरले ४७ बलमा ३ चौका प्रहार गरे । सुमित महर्जन ४० बलमा १ चौका र १ छक्का सहित १९ रनमा आउट भए ।

३९ औं ओभरको अन्तिम बलमा सन्दीप जोरालाई विक्रम सोबले हरि चौहानबाट २९ रनमा क्याच गराएपछि खेलले नयाँ मोड लिएको थियो । सन्दीपले ३७ बलमा १ चौका र १ छक्का प्रहार गरे । सन्दीप आउट भएसँगै एपिएफले ४ रन जोड्न चार विकेट गुमाएपछि आर्मी च्याम्पियन बनेको हो ।

विक्रम सोबले ९ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । जितेन्द्र मुखियाले ९ ओभरमा १ मेडन सहित ३७ रन खर्चेर ३ विकेट लिए । साहब आलमले ९.३ ओभरमा २ मेडन सहित २८ रन खर्चेर ३ विकेट लिए ।


त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । आर्मीका हरि चौहानले १ सय २ बलमा ६ चौका सहित सर्वाधिक ५८ रनको योगदान दिए । हरिले ८९ बलमा अर्धशतक पूरा गरेका थिए ।

आर्मीले आश्चर्य पार्दै ओपनिङमा अनिल कुमार मण्डलका साथ स्पिनर सुशन भारीलाई पठाएको थियो । बाँया हाते स्पिनर सुशनले ९ ओभर सम्म अनिलसँग ३२ रनको साझेदारी गरेका थिए । सुशन किशोर महतोको नवौं ओभरको अन्तिम बलमा कट विहान्ड हुँदै विकेटकिपर सुबास खकुरेलबाट १३ रनमा आउट भए । सुशनले ३४ बल खेल्दै एक चौका प्रहार गरे ।

लगत्तै दशौं ओभरको पहिलो बलमा अनिल एज लागेर सेकेन्ड स्लिपमा आशिफ शेखबाट ११ रनमा आउट भएका थिए । अनिलले २१ बलमा १ चौका प्रहार गरे । १८ औं ओभरको पहिलो बलमा भिम सार्की ७ रनमा सुबास क्याच आउट भए । भिमले ३६ बलमा १ चौका प्रहार गरे । स्पिनर भुवन कार्कीको २७ औं ओभरको दोस्रो बलमा ठूलो सट खेल्ने धुनमा युवा ब्याट्सम्यान रोहित कुमार पौडेल मिडअनमा अमरसिंह रौउटेलाबाट १३ रनमा क्याच लिए ।


रोहितले ३० बलमा १ छक्का प्र’हार गरे । विनोद भण्डारी ७ रनमा एलबिडब्लू आउट भए । तल्लोक्रममा लोकेश बम ९ बलमा २ छक्का सहित १५ रनमा क्याच आउट भए । राजेश पुलामी २९ बलमा २ चौका र १ छक्का सहित २८ रनमा आउट भए । साहब आलमले राम्रो अन्त्य गर्दै १४ बलमा २ चौका र १ छक्का सहित २४ रनमा अविजित रहे । विक्रम सोब ११ रनमा आउट भए ।

एपिएफका तीव्र गतिका बलर अभिनाश बोहराले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । भुवन कार्की, शरद भेषावकर र कमलसिंह ऐरीले १–१ विकेट लिए ।

आर्मीले पहिलो संस्करणको फाइनलमा नेपाल पुलिस क्लबसँग वर्षाको कारण उपाधि बाँडेको थियो । सशस्त्र दोस्रो संस्करणमा फाइनलमा आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करणमा आर्मी नेपाल पुलिस क्लबसँग ४ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया