आलम प्रकरण : १० जनालाई जन्मकैद माग

admin

रौतहट, कात्तिक १६ : रौतहटको राजपुरमा बम विस्फोट गरेको आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद आफ्ताब आलमसहित १० जनालाई जन्मकैदको रायसल्लाहसहित रौतहट प्रहरीले सरकारी वकिल कार्यालय रौतहटलाई शुक्रबार प्रतिवेदन बुझाएको छ ।

११ जना प्रतिवादीमध्ये १० जनालाई जन्मकैद र एक जनालाई मतियारको अभियोगमा कारबाहीको मागसहित रौतहट प्रहरीले प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालय रौतहटका जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवालले जानकारी दिएका छन् ।प्रमुख अभियुक्त आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन प्रहरीबाट प्राप्त भएको जिल्ला न्यायाधिवक्ता कटुवालले जानकारी दिए ।

उनीहरूलाई साबिक मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ र १३ (१) को कसुर अपराध तथा प्रचलित हालको मुलुकी अपराधसंहिता २०७४ को दफा १७७ (१) कसुर अपराधअनुसार कारबाहीको माग भएको कटुवालले बताए । आलमविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दा सहित थप दुई कसुरमा अनुसन्धान प्रतिवेदन तयार पारेको छ ।

प्रहरीले कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थसम्बन्धी गरी तीनवटा मुद्दामा अनुसन्धान गरी जिल्ला सरकारी वकिलको कार्यालयमा रायसहितको प्रतिवेदन पेस गरेको हो ।राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया