इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक : अध्यक्ष दाहाल

राष्ट्रिय समाचार समिति

काठमाडौँ, २५ साउन: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिर्वतन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै इतिहास उल्ट्याउन गरिने प्रयास निरर्थक हुने बताउनुभएको छ ।

आज राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष दाहालले लामो सङ्घर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने जिकिर गर्नुभयो ।

“राजनीतिक र सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले सल्ट्याउन सकेको छैन, इतिहासको चक्का निरन्तर अगाडि बढ्छ, पछाडि धकेल्न चाहने इतिहासको रछ्यानमा मिल्किने गरेका छन्, नेपाल त्यसको अपवादमा हुनै सक्दैन”, अध्यक्ष दाहालले भन्नुभयो ।

उहाँले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको बताउँदै पुराना सोच, संरचना, मूल्य र मान्यतालाई व्यवहारतः विस्थापित गरिँदै जाने उल्लेख गर्नुभयो । नयाँ सोच, मूल्य, मान्यता र संस्कृति अघि बढाउने चुनौती पनि कायम रहेकोसमेत उहाँको भनाइ थियो । उहाँले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीतिअनुसार अघि बढाउनका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिक्रिया