इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको सङ्ख्या ६२ पुग्यो, कैयौँ व्यक्ति बेपत्ता

शर्मिला गुरुङ

जकार्ता, ८ पुस (रासस÷एएफपी) : इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान जाने व्यक्तिको सङ्ख्या ६२ पुगेको समाचार छ ।
आइतबार बिहान इन्डोनेसियाको समुद्रीतटमा आएको सुनामीका कारण धेरै नागरिकको ज्यान गएको बताइएको छ । सो सुनामीका कारण कम्तीमा पनि ६२ जनाको मृत्यु भएको इन्डोनेसियाको प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ ।

सो विभागकाअनुसार पछिल्लो समाचारमा करिब ५८४ जना घाइते भएका छन् भने कैयाँै व्यक्ति हराइरहेका छन् । हराएको व्यक्तिको खोजी गर्न कठिनाई देखिएको छ ।
समुद्री तटमा अझै पनि सुनामीको सम्भावना रहेको बताइएको छ । जसका कारण अहिले पनि सो क्षेत्रमा सतर्कता अपनाइएको प्राप्त समाचारहरुमा जनाइएको छ ।

आइतबार एकाबिहानै इन्डोनेसियामा ज्वालामुखी विस्फोट भएको र त्यसलगत्तै सुनामी आएको हो । यहाँको सुन्दा स्ट्रेटस्थित समुद्री तटमा सुनामी आएको समाचारमा जनाइएको छ ।
ज्वालामुखी र सुनामी दुवै शक्तिशाली रहेका बताइएको छ । सोही कारण पनि हराइरहेका व्यक्तिको सङ्ख्या अझै यकिन हुन सकिरहेको छैन । त्यसैगरी घाइतेको सङ्ख्या पनि अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

शक्तिशाली सुनामीका कारण ठूलो क्षति भएको अधिकारीहरुले जनाएका छन् । मृत्युको सङ्ख्या बढ्न सक्ने अनुमान यहाँको विपद् व्यवस्थापन एजेन्सीले गरेको पनि इन्डोनेसियाबाट प्राप्त समाचारहरुमा जनाइएको छ ।

सो एजेन्सीका अनुसार, सुनामीबाट कैयौँ व्यक्ति हराइरहेका छन् । समुद्री तट नजकिको वस्तीको वरपरका सयौँ घर भत्किएका छन् । त्यस्तै ती क्षेत्रमा रहेका भौतिक संरचना पनि ढलेका छन् ।
यसबाट सबैभन्दा धेरै पाडेलाङ, दक्षिण लाम्पुङ र सेराङ नामका क्षेत्रहरुमा अन्यत्र भन्दा बढी क्षति पुगेको सरकारी अधिकारीहरुले बताएका छन् । सो क्षेत्रका विपद् व्यवस्थापनमा खटिरहेका अधिकारीहरुले सार्वजनिक गरेका तस्बिरहरुमा प्रभावित क्षेत्रका केही नगरहरु पानीमा डुबेको देखिन्छ ।

यहाँ बारम्बार ज्वालामुखी विस्फोट हुने गर्दछ । आइतबार बिहानको ज्वालामुखीको नाम क्राकाटोआ हो । आइतबारको यस ज्वालामुखी विस्फोटपछि सुनामी आएको हो ।
भौगर्भिक अधिकारीहरुले पहिला ज्वालामुखी विस्फोट भएको र त्यसका कारण समुद्रमुनिको जमिनमा पहिरो गएकोले सुनामी आएको हुनसक्ने अनुमान गरेका छन् ।
उनीहरुले अझै पनि सुनामीको खतरा रहेको भन्दै समुद्री किनार वरपरको वस्तीलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।

इन्डोनेसिया विगत लामो समयदेखि नै ज्वालामुखी, भूकम्प र सुनामीको चपेटामा पर्दै आइरहेको छ । यसै वर्षको सेप्टेम्बर महिनामा पनि त्यहाँ शक्तिशाली भूकम्प गएको थियो । सो भूकम्पबाट यहाँ ठूलो जनधनको क्षति भएको थियो ।

प्रतिक्रिया