इन्डोनेसिया बाढी र पहिरो : ज्यान गुमाउनेको संख्या १८० पुग्यो

admin

काठमाडौं, २६ चैत : इन्डोनेसिया र इस्ट तिमोरमा आएको बाढी र पहिरोमा परि ज्यान गुमाउनेको संख्या १८० भन्दा बढी भएको बिहीबार जानकारी दिइएको छ । जाकार्ताका सरकारी अधिकारीहरुले जनाएअनुसार यस बाढी र पहिरोको कारण अझै पनि दर्जनौँ व्यक्ति हराइरहेका छन् । यस बाढीबाट इन्डोनेसिया र छिमेकमा पर्ने इस्ट तिमोर बढी प्रभावित भएको अधिकारीहरुले जानकारी दिएका थिए ।

यस प्रकोपबाट इन्डोनेसियामा १४० र इस्ट तिमोरमा ३७ जनाको ज्यान गएको इन्डोनेसियाको विपद् व्यवस्थापन निकायका प्रवक्ताले बताएका छन् । उनका अनुसार इस्ट तिमोरको राजधानी डिलीको आवासीय क्षेत्रमा धेरै व्यक्तिको ज्यान गएको छ । उता इन्डोनेसियामा अझै पनि ७० भन्दा बढी व्यक्ति हराएका खोजी तथा उद्धार कार्यमा संलग्न टोलीले जानकारी दिएका छन् ।

बाढी पहिरोका कारण दर्जनौँ घरसहित भौतिक संरचनामा क्षति पुगेको जनाइएको छ । आँधीबेहरीले लेम्बाटा टापुको केही गाउँ र समुद्रको किनारमा अवस्थित भवनहरू बगाएको बताइएको छ । वर्षाको समयमा इन्डोनेसियाली द्वीपहरुका बाढी र पहिरोको प्रकोपले सताउने सामान्य जस्तो नै भएको पाइन्छ ।

गएको जनवरी महिनामा इन्डोनेसियाको पश्चिमी भागमा पर्ने जाभा प्रान्तको सुमेडाङ सहरमा आएको बाढीका परी कम्तीका ४० व्यक्तिको ज्यान गएको थियो । इन्डोनेसियाको १२ करोड ५० लाख अर्थात देशको लगभग आधा जनसंख्या पहिरोको जोखिम रहेको क्षेत्रमा बस्ने गरेका पनि समाचारमा जनाइएको छ ।

प्रतिक्रिया